भाइटीकाका दिन पनि वाग्मती सफाइ, महाअभियानकाे ४ सय ४३ औँ हप्ता पूरा

जनपत्र
२० कार्तिक २०७८, शनिबार १८:३४

काठमाण्डाै – तिहारको अन्तिम दिन सबै जना भाइटीकाको तयारी गरिरहेका बेला वाग्मती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् ।

विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकूल अवस्थामा पनि जारी छ । गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ पर्व मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माण भइरहेको छ । त्यस क्षेत्रमा सफाइ महाअभियानले चार सय ४३ औँ हप्ताको सफाइ गरेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य डा. माला खरेलले जानकारी दिनुभयो ।

सफाइबाट जम्मा गरिएको फोहर अधिकार सम्पन्न वाग्मतीको कार्यालय आगाडि थुपारिएको छ । काठमाण्डाै महानगरपालिकाले फोहर व्यवस्थापन गर्ने जनाइएको छ । आज तिहारको भाइटीका परे पनि सफाइमा एक सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, समितिका कर्मचारी, अभियानकर्मीलगायतको उपस्थिति थियो ।

महाअभियान सुरु भएपछि काठमाण्डाै उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । चक्रपथका विभिन्न खण्डसमेत गरी अहिले काठमाण्डाै उपत्यकामा २५ ठाउँमा सफाइ भइरहेको छ । सांस्कृतिक सम्पदामा पनि वाग्मतीकै प्रभावले सफाइ भइरहेको छ । अहिले उपत्यकाको गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत ठाउँमा सफाइ भइरहेको छ ।

यसैगरी उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । काठमाण्डाै उपत्यकाबाहिर अहिले एक सय आठ ठाउँमा सफाइ भइरहेको छ । सफाइ महाअभियानले देशव्यापी रूपमा जागरण ल्याए पनि पालिका सरकारले सहयोग नगरेको अभियानकर्मीको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*