सियरा लिओनमा इन्धन बाेकेकाे ट्याङ्कर लरीसँग ठाेक्किँदा कम्तीमा ८४ जनाकाे ज्यान गयाे
![](https://www.janapatra.com/wp-content/uploads/2021/11/tanker_accident_in_Sierra_Leone_bfveGJsCF7.jpg)
काठमाण्डाै – सियरा लिओनमा एउटा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग ठोक्किँदा कम्तीमा ८४ जनाको ज्यान गएको छ ।
राजधानी फ्रीटाउनमा दुई गाडी जुधेर विस्फोट हुँदा कम्तीमा ८४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । फ्रीटाउनका मेयर वाइभोन अकि सवेरले एक सयभन्दा धेरैको ज्यान गएको बताउनुभएको छ । दुर्घटनामा झन्डै एक सय जना घाइतेको उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।
भुइँमा पोखिएको इन्धनमा आगो लागेपछि नजिक रहेका मानिसहरू र सवारी साधनमा सल्किँदा धेरैको ज्यान गएको हो ।
राष्ट्रपति जुलियस मादा बायोले यसलाई दुःखद घटना भएको भन्दै पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
गएको मार्चमा पनि त्यही सहरको एउटा बस्तीमा आगलागी हुँदा ८० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । त्यस्तै सन् २०१७ मा भारी वर्षापछि आएको बाढीमा परेर एक हजारभन्दा धेरैको ज्यान गएको थियो ।