टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले स्कटल्याण्डलाई ८ विकेटले हरायो : सेमिफाइनल पुग्ने सम्भावना कायमै

जनपत्र
२० कार्तिक २०७८, शनिबार ०७:४०

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले स्कटल्याण्डलाई फराकिलो अन्तरले हराएको छ । गए राती दुबईमा भएको खेलमा भारतले स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको हो ।

स्कटल्यान्डले दिएको ८६ रनको लक्ष्य भारतले ६ ओभर ३ बलमा दुई विकेटको क्षतिमा भेट्टायो । भारतका केएल राहुलले ५० रनको अर्धशतकिय पारी खेले । त्यस्तै रोहित शर्माले ३० रन जोडे । स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक÷एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले १७ ओभर ४ बलमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे । भारतका मोहम्मद सामी र रविन्द्र जडेजाले समान तीन÷तीन विकेट लिए ।

जसप्रित बुमराहले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए । जितसँगै भारतले चार खेलबाट चार अङ्क जोडेको छ । समूह दुईबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा छ । भारतले पनि सेमिफाइनलको सम्भावना कायमै राखेको छ । भारतले सेमिफाइनलमा प्रवेशका लागि नामिवियालाई ठुलो अन्तरले हराउनुपर्ने हुन्छ भने अफगानिस्तानले न्यूजिल्यान्डलाई जित्नुपर्छ । साथै रनरेटमा पनि भर पर्नुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*