उत्तर कोरियामा भोकमरीको अवस्था भयावह बन्दै गएको चेतावनी
काठमाण्डाै – उत्तर कोरियामा भोकमरीको अवस्था सन् १९९० को जस्तै हुन थालेको उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेकाहरूले बताएका छन् ।
सन् १९९० मा उत्तर कोरियामा भोकमरीका कारण लाखौँ मानिसले ज्यान गुमाएका थिए । अहिले पनि दिनमा एक पटक पेट भर्न पनि निकै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उत्तर कोरियाबाट भागेकाहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
हिउँदयाम नजिकिँदै गर्दा खाद्य अभाव झनै खराब अवस्थामा पुग्ने अनुमान छ । सडकमा अनाथ बालबालिकाको सङ्ख्या बढ्नुका साथै भोककै कारण दैनिक ज्यान गइरहेको समाचार संस्था डेली एनकेले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घले उत्तर काेरियामा दुईदेखि तीन महिनासम्म अन्नको अभाव हुने आकलन गरेको छ । किम जाेङ उनले पनि अन्नको जोहो गर्न र बाली भित्राउन मद्दत गर्न निर्देशन दिएको बताइएको छ ।
कोरोना महामारीका कारण सीमाहरू बन्द गरिएका छन् भने परमाणु कार्यक्रम विवादका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि खेपिरहेको छ । खेतीका लागि सेनासहित हजारौँ मानिस खटाएको भए पनि लामो खडेरीका कारण उत्पादन सोचे अनुसार भएको छैन ।
विज्ञहरूका अनुसार उत्तर कोरियाले नयाँ सैन्य प्रविधि र हतियारमा प्रतिस्पर्धा गरे पनि कृषिमा आधुनिक प्रणाली विस्तार भएको छैन ।