दाङका सबै वडामा स्वास्थ्य इकाई, गुणस्तरीय सेवामा भने कमी

जनपत्र
१८ कार्तिक २०७८, बिहीबार १३:५३

दाङ – दाङका दश वटै पालिकाका सबै वडामा कम्तीमा एक स्वास्थ्य इकाई स्थापना भएका छन् ।

स्थानीय सरकारकाे गठनपछि नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वास्थ्य इकाई स्थापना गरिएकाे हाे । यद्यपि, आवश्यक भाैतिक पूर्वाधारको कमी, कर्मचारीमा आवश्यक तालिमको अभाव लगायतका कारण स्वास्थ्य इकाईबाट प्रदान हुने सेवा गुणस्तरीय हुन सकेकाे छैन ।

दाङमा रहेका एक सय वडामा अहिले १ सय १८ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । स्थानीय सरकार गठन हुनु अघिसम्म दाङमा ४० वटा मात्रै सरकारी स्वास्थ्य संस्था रहेकोमा बितेको चार वर्षको अवधिमा ७५ वटाभन्दा बढी स्वास्थ्य संस्था थपिएका छन् ।

नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन पालिकाहरुले गरेको प्रयासकै कारण हरेका वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गतबहादुर केसी बताउनुहुन्छ ।

विकटका क्षेत्रमा एउटै वडामा दुई वटासम्म आधारभूत स्वास्थ्य सेवा खुलेका छन् । स्वास्थ्य संस्थासम्म नागरिकको पहुँच बढे पनि ती स्वास्थ्य संस्थाको आवश्यक भौतिक निर्माण पूरा नभएको र धेरैमा दरबन्दी नै नभएकाले आवश्यक सेवा भने प्रदान गर्न सकेका छैनन्। ‘ती स्वास्थ्य संस्थाको पूर्वाधारको काम पूरा हुने क्रममा छु’— जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख केसी भन्नुभयो —’सेवा विस्तार र गुणस्तरीय बनाउने काममा हामी लागिरहेका छौँ ।’

स्वास्थ्य संस्थाहरु खोल्ने र करारमा स्वास्थ्यकर्मी भर्ना गर्ने तर उनीहरुलाई आवश्यक तालिम, उपकरण र भौतिक पूर्वाधार उपलब्ध नहुँदा सेवाको गुणस्तरमा खासै सुधार आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सीता कुँवरको भनाइ छ ।

‘स्वास्थ्य संस्था खोल्ने र करारमा कर्मचारी भर्ना गर्ने तर उनीहरुलाई तालिम दिने, दक्ष बनाउने, आवश्यक उपकरण उपलब्ध गराउने र भौतिक पूर्वाधारको थप विकास गरेमात्रै स्थापित स्वास्थ्य संस्थाबाट नागरिकले सेवा पाउन सक्छन्’—नर्सिङ निरीक्षक कुँवरले भन्नुभयो—’अब त्यसतर्फ तीनै तहका सरकारले ध्यान दिन जरुरी छ।’

पालिकाका स्वास्थ्य शाखाहरुले दुई जना मात्रै स्वास्थ्यकर्मी राखेर आधारभूत स्वास्थ्य इकाई सञ्चालन गर्नुको औचित्य नरहेको स्थानीयको भनाइ छ । धेरै स्वास्थ्य संस्था खोलिएकाले अपुग जनशक्ति करारमा राखिएको जिल्लाका पालिकाहरुले बताउँछन्।

गुणस्तरीय सेवा प्रदान गर्नका लागि करारमा राखिएका कर्मचारीहरुलाई पनि तीनै तहको सरकारको सहयोगमा तालिम प्रदान गरी दक्ष बनाउने आफूहरुको कार्यक्रम रहेको तुलसीपुर उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपाने बताउनु हुन्छ ।

‘नागरिकको स्वास्थ्य सेवा पहुँचका लागि ऐन कानुनमै रहेर स्वास्थ्य संस्था खोलिएको हो, अब ती संस्थालाई सुविधासम्पन्न गराउनेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ’-स्वास्थ्य महाशाखा प्रमुख न्यौपानेले थप्नुभयो,’अब करारमा राखिएका कर्मचारीहरुलाई पनि तालिम दिएर दक्ष बनाउने काम गरिने छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*