म्याग्दीका महिला उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ
म्याग्दी – नेपाली समाजमा दशैँ पर्व भन्ने बित्तिकै प्रायः मासु खाने पर्वका रुपमा लिइन्छ । दशैँमा मासु, केरा, कुराउनी, स्याउलगायत फलफूलहरुको बढी प्रयोग हुन्छ । दशैँलाई नेपालीहरुको महान पर्वका रुपमा मानिएको छ ।
दशैँपछि लगत्तै आउने अर्को दोस्रो ठूलो पर्व हो, तिहार । तिहार भनेपछि खासगरी सेलरोटी, झिनियाँलगायत परिकारलाई सम्झिन्छ । तिहारमा मुख्य रुपमा सेल पकाउने र झिनियाँ बनाउने गरिन्छ । नेपाली समाजको आफ्नै खाले विशेषता भएकाले चाडपर्वअनुसार विभिन्न परिकारहरु बनाएर खाने चलन छ।
तिहार पर्व विशेषतः दाजुभाइ र तीज पर्व भने दिदीबहिनीहरुका लागि नेपाली समाजको परम्पराको रुपमा रहेको छ।
तीजमा दाजुभाइहरुले आफ्ना दिदीबहिनीलाई बोलाएर मीठोमीठो खुवाउने र तिहारमा दिदीबहिनीहरुले मीठोमीठो परिकार बनाएर आफ्नो माइतीघर लैजाने, दाजुभाइलाई तिहारको भाइटीका लगाएर खुवाउने चलन रहिआएको छ । तीज र तिहार पर्व नेपाली समाजमा दाजुभाइ र दिदीबहिनीका लागि निकै महत्त्वपूर्ण छन्।
यतिबेला नेपालीहरुको घर, आँगन, दैलामुनि र बारीका डिलमा सयमत्री, मखमली, तिहारे फुललगायत विभिन्न फूलहरु ढकमक्क फुलिरहेका छन् । कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि सुरु हुने तिहार पर्व नेपाली समाजको घर आँगनमा भित्रिसकेको छ।
नेपाली समुदाय तिहारलाई स्वागतसँगै झिलिमिली बनाउन तल्लीन छन् । तिहारलाई उज्यालो पर्वका रुपमा मानिन्छ । दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्धलाई अझ गहिरो बनाउन तिहार पर्वले पनि विशेष भूमिका खेलेको पाइन्छ।
यसैक्रममा हिमाली जिल्ला म्याग्दीका महिला उद्यमीहरुलाई तिहारका लागि झिनियाँ बनाउन भ्याइनभ्याइ छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व आएलगत्तै उनीहरुलाई झिनियाँ बनाउने चटारो सुरु भएको हो ।
बेनी नगरपालिका–८ हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका यतिबेला झिनियाँ बनाउने, सुकाउने र बिक्री गर्ने काममा व्यस्त हुनुहुन्छ । बेनी ओर्लिएपछि २०६० सालबाट झिनियाँ बनाउने काम सुरु गर्नुभएकी उहाँले पछि बिस्तारै व्यावसायिक रुपमा झिनियाँ बनाउन थाल्नुभयो ।
सुरुवातको समयमा सामूहिक रुपमा पाँच जनाले झिनियाँ बनाएकोमा अहिले उहाँसँगै दुईजना छन्।