देउवाविरुद्ध साझा उम्मेदवार छान्न सकस

जनपत्र
१८ कार्तिक २०७८, बिहीबार ०७:५८

पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार खडा गर्न संस्थापन इतर समूह अझै सफल हुन सकेको छैन ।

आसन्न महाधिवेशनमा सभापतिका अन्य आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा। शेखर कोइरालालगायतका प्रभावशाली नेताहरूले तल्लो तहको अधिवेशन प्रक्रिया शुरु हुनअघि नै देउवाविरुद्ध एक मात्र साझा उम्मेदवार तय गरि अघि बढ्ने बताएका थिए । केन्द्रीय नेतृत्वका आकांक्षी सबै नेता देउवालाई पुनः सभापति दोहोर्‍याउन नदिने पक्षमा भए पनि देउवाविरुद्ध एकजुट हुन भने सकेका छैनन् ।

सत्ताधारी दल कांग्रेसको महाधिवेशन प्रक्रिया तिहारपछि फेरि अघि बढ्दै छ । पार्टीभित्रको आन्तरिक कारण देखाउँदै पटक–पटक कार्यतालिका संशोधन गर्दै आएको कांग्रेसले मंसिर २४ देखि २६ सम्म महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका ल्याएपछि पार्टीभित्र केन्द्रदेखि गाउँ तहसम्म फेरी चहलपहल शुरु भएको छ । यसअघि देउवा पक्षमा रहेर बलियो साथ दिँदै आएका उपसभापति निधि बाहिरिए पनि देउवाले कांग्रेसभित्र तेस्रो गुटका रुपमा रहेका कृष्णप्रसाद सिटौला समूहलाई साथमा लिएर अघि बढ्ने रणनीति बनाउनुभएको छ ।

१४औं महाधिवेशनबाट देउवालाई पुनः नेतृत्वमा ल्याउन नहुने वकालत गर्दै आउनुभएका वरिष्ठ नेता पौडेल भन्नुहुन्छ– ‘हामीले गत भदौमा महाधिवेशन प्रक्रिया शुरु हुने बेलैमा एउटै मञ्चबाट महाधिवेशनमा साझा उम्मेदवार दिने बताएका छौं । आकांक्षी अन्य नेताहरूबीच निरन्तर छलफल चलिरहेको छ, सबै जिल्ला अधिवेशनपछि साझा उम्मेदवार को भन्ने निष्कर्षमा पुग्नेछौं ।’

गत भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया शुरु गरेको कांग्रेसको प्रक्रिया नै शुरु नभएको प्रदेश २ लगायत १२ जिल्लामा कात्तिक २७ देखि वडा अधिवेशन हुँदै छ । कांग्रेसको अधिवेशन प्रक्रियाअन्तर्गत वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन हुन्छ । महाधिवेशन प्रक्रिया शुरु भएसँगै सभापतिको दाबी गर्दै तयारीमा लागेका कार्यवाहक सभापति विमलेन्द्र निधिले आफ्नो सम्पूर्ण ध्यान गृह प्रदेशमा लगाउन थाल्नुभएको छ ।

वडाबाट छनोट हुने क्षेत्रीय प्रतिनिधिले नै केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएकाले निधिले अहिले प्रदेश २ मा हुने वडा अधिवेशनमा विशेष चासो दिनुभएको उहाँ निकट नेताहरू वताउँछन् । न्युजअफनेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*