महाकवि देवकोटाको ११३ औँ जन्मजयन्ती मनाइँदै

जनपत्र
१८ कार्तिक २०७८, बिहीबार ०७:४९

काठमाण्डाै – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली साहित्यमा सयभन्दा धेरै कृतिको योगदान गरेका देवकोटाले दश वर्षको उमेरदेखि कविता लेख्न सुरु गर्नुभएको थियो । देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।

उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।  महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो ।

२०१६ सालमा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*