टी–२० विश्व कप : भारतकाे पहिलाे जित, अफगानिस्तान ६६ रनले पराजित

जनपत्र
१८ कार्तिक २०७८, बिहीबार ०७:४५

काठमाण्डाै – आईसीसी टी–२० विश्वकपमा भारतले पहिलो जित निकालेको छ । सुपर १२ को समूह दुई अन्तर्गत गएराति भएको खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हराएको हो । जितसँगै भारतले सेमिफाइनलको झिनो सम्भावना कायमै राखेको छ ।

आबुधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा २ विकेट गुमाएर दुई सय १० रन बनायो । भारतका रोहित शर्माले ७४ तथा केएल राहुलले ६९ रनको अर्धशतकीय पारी खेले । हार्दिक पाण्ड्या ३५ र रिसभ पन्त २७ रनमा अविजित रहे ।

अफगानिस्तानका करिम जन्नत र गुलबदिन नइबले एक/एक विकेट लिए । दुई सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ४४ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका करिम जन्नतले अविजित ४२ तथा कप्तान मोहम्मद नाबीले ३५ रन जोडे ।

भारतका मोहमद शामीले तीन तथा रविचन्द्रन आश्विनले दुई विकेट लिए । जसप्रित बुमराह र रविन्द्र जडेजाले एक/एक विकेट लिए । यसअघिका खेलमा भारत पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो। भारतले शुक्रवार स्कटल्यान्डसँग र सोमवार नामिबियासँग खेल्नेछ ।

यी दुवै खेलमा फराकिलो जित र न्युजिल्यान्ड बाँकी दुई खेलमा एकमा पराजित भए मात्रै भारत नेट रनरेटको आधारमा सेमिफाइनल पुग्ने झिनो आशा कामयै छ । सुपर १२ को समूह दुईमा पाकिस्तान शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा छ ।

भारत चौथो र नामिबिया पाँचौँ स्थानमा छ । छैटाैँ स्थानमा रहेको स्कटल्यान्ड बाहिरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*