भरतपुरका अत्यावश्यक कार्यालयमा वैकल्पिक बाटोबाट बिजुली, कुलमान आफैँ ‘फिल्ड’ मा

जनपत्र
१७ कार्तिक २०७८, बुधबार १४:४९

चितवन – चितवनको भरतपुर महानगरपालिकामा बिजुली आउन अझै आठ/दश घण्टा लाग्ने भएको छ । भरतपुर महानगरपालिकाको बसेनी ग्रिड सबस्टेशनको पावर ट्रान्सफर्मरहरूमा समस्या आउँदा भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा हिजो मङ्गलवार दिउँसोदेखि विद्युत् आपूर्ति बन्द भएको छ ।

हिजो दिउँसोदेखि राति पनि नभनी काम भइरहेको र आज राति बिजुली दिन सक्ने सम्भावना रहेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले उज्यालोलाई जानकारी दिनुभयो । ट्रान्सफर्मर जडान भइसकेको र यसको चार्ज तथा परीक्षणमा केही समय लाग्ने उहाँको भनाइ छ ।

भरतपुरका केही ठाउँमा चनौली, टाँडी, कावासोसी र तनँहुबाट समेत ल्याएको बिजुली उपलब्ध गराइएको सिलवालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालयलगायतका ठाउँमा वैकल्पिक बाटोबाट बिजुली दिइएको प्राधिकरणले जनाएको छ ।

बसेनी ग्रिड सबस्टेशनमा एकै पटक दुई वटै ट्रान्सफर्मरमा समस्या आउँदा लामो समय बिजुली दिन नसकिएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सबस्टेशनको निरीक्षण गर्न र काममा हौसला थप्न आफैँ चितवन जानुभएको छ । दिउँसो १२ बजे चितवन पुग्नुभएका घिसिङले काम गरिरहेका कर्मचारीलाई हौसला दिने र समस्याको छिटो समाधानको पहल गरिरहनुभएको प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*