धादिङमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
धादिङ – धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ मा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा धुनिबेसी नगरपालिका वडा नम्बर १ की ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएपछि उनीहरुलाई उपचारका लागि काठमाण्डौको स्वयम्भूमा रहेकाे मनमोहन मेमोरियल अस्पतालमा लगिएकाे थियाे । उनीहरुकाे उपचारकाे क्रममा ज्यान गएकाे हाे ।
कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भइ पल्टिएर दुर्घटनामा परेकाे थियो।
दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको काठमाण्डाैकाे ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।