सर्लाहीमा थप २९ सय ३९ शिक्षक दरबन्दी आवश्यक
सर्लाहीका अधिकांश सामुदायिक विद्यालय वर्षौंदेखि शिक्षक दरबन्दीको चरम अभाव झेल्दै आएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ सर्लाही प्रमुख रामअधार सिंह कुशवाहाका अनुसार जिल्लामा थप २९ सय ३९ शिक्षक दरबन्दी आवश्यक छन् ।
सर्लाहीमा प्रावि तहका ५५, निमावि तहका २७ र मावि तहका २३ गरी जम्मा १ सय ५ विद्यालयमा तहगत दरबन्दी नहुँदा उक्त विद्यालयहरू निजी स्रोतको शिक्षकको भरमा चलेको शिक्षा विकास तथा समन्वय एकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले बताए ।
यी विद्यालयले स्थानीय तह, विधालयको आन्तरिक आम्दानी वा चन्दाबाट आउने रकमबाट शिक्षकलाई तलब भुक्तानी गर्ने गरेका छन् ।
सर्लाहीमा प्रावि तहमा १५९०, निमावि तहमा ६९५, मावि तहमा ६५४ गरी जम्मा २९ सय ३९ शिक्षक दरबन्दी आवश्यक रहेका छन् । अर्थात विद्यालय, विद्यार्थी संख्या, विषयगत र कक्षागत आधारमा जिल्लालाई २९ सय ३९ थप शिक्षक आवश्यक रहेको छ ।
कुशवाहा अनुसार एक जना शिक्षकले १ सयभन्दा बढी विद्यार्थीलाई पढाउने गरेका छन । जबकि सरकारले तराईका जिल्लामा ५० विद्यार्थीबराबर एक शिक्षकको अनुपात तोकेको छ, कुशवाहाले भने शिक्षकको चरम अभावमा गुणस्तरीय शिक्षा भाषणमा मात्रै सीमित बन्दै गएको छ ।
शिक्षा ऐन( नियमावलीले एउटा प्रावि तहमा न्यूनतम ३, निमावि तहमा ४ र मावि तहमा न्यूनतम ५ शिक्षक दरबन्दी हुनुपर्ने प्रावधान तोकेको छ । तर जिल्लाका १ सय ५ विधालयमा तहगत सरकारी शिक्षकको दरबन्दी छैन भने प्रावि १६४५, निमावि ३९७ र माध्यमिक तहमा ३४६ गरी जम्मा २३ सय ८८ मात्र शिक्षक दरबन्दी छन् ।
प्रावि तहमा दरबन्दी १२२१ र अनुदान(राहत ४३९, निमावि तहमा दरबन्दी २८९ र अनुदान(राहत ११०, मावि तहमा दरबन्दी १७४ र अनुदान(राहत ८९ र मावि दस जोड दुईमा दरबन्दी २८ र अनुदान ५५ रहेका छन ।
कुल ७ लाख ६९ हजार ७ सय २९ जनसंख्या रहेको सर्लाहीमा सामुदायिक ४ सय ७८, संस्थागत २ सय ८३ र परम्परागत धार्मिक ८६ गरी जम्मा ८ सय ४७ विद्यालयहरु रहेका छन, भने बालविकास केन्द्र, आधारभूत तह, मावि, उमावि, मदरसा, संस्थागत विद्यालयहरूमा गरी १ लाख ६६ हजार ३ सय ५६ विद्यार्थी अध्ययनरत छन् । कारोबारडेलीबाट