टक्सार विभागमा सुन–चाँदीकाे असर्फी किन्नेकाे भिड
काठमाण्डौ – बबरमहलमा रहेको नेपाल राष्ट्र बैंकको टक्सार विभागमा असर्फी (सिक्का) किन्नेको भिड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि आज मङ्गलवार सुन र चाँदीको असर्फी किन्नेहरूको भिड लागेको हो ।
असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरूको भिड देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिनुभएको छ । उहाँले चाँदीको असर्फी भने पाउने आशा गर्नुभएको छ ।
हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गर्नुभएका सिनामङ्गलका विजय उपाध्यायले पनि भिडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मार्नुभएको छ । उहाँले पनि चाँदीको असर्फी भने आउने आशा व्यक्त गर्नुभयो ।
टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अङ्कित असर्फी तयार गरेको छ । पाँच ग्राम असर्फीको मूल्य ४० हजार चार सय ३८ रुपैयाँ र दुई दशमलव पाँच ग्राम असर्फीको बिक्री मूल्य २० हजार दुई सय १९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।