तिहार शुरु भइसक्दा पनि पाला बनाउन भ्याइनभ्याइ

जनपत्र
१६ कार्तिक २०७८, मंगलवार १४:०५

भक्तपुर – नेपालीहरुको दोश्रो महान् पर्व तिहार आएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ । पालाको माग धेरै हुने तिहार शुरु भइसकेकाले  यहाँ पाला बनाउँदै आएका कुमाले समुदायका सिंगो परिवारलाई यतिखेर पाला बनाउन भ्याइ नभ्याइ भएको छ ।

भक्तपुरमा आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचो लगायतका स्थानका प्रजापति समुदायका पुरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला लगायतका अन्य सामाग्री बनाउन एकछिन फुर्सद छैन ।

“तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ, तिहार सामान जसरी पनि दिनुपर्छ । अहिले भ्याई नभ्याई छ” वर्षौदेखि माटोको भाडाँ बनाउदै आएका स्थानिय तालाको पोर्टरी स्क्वायरका ३७ वर्षका विनोदकुमार प्रजापतिले बताउनुभयो ।

वर्षभरिमा राम्रो आम्दामी गर्ने समय नै यही हो भन्दै उहाँले यो मौकालाई गुम्न नदिन स–परिवार विहानै देखि रात नपरेसम्म काममै व्यस्त हुने गरेको बताउनुभयो । माटोको भाडा बनाउने आधुनिक मेशिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त उहाँले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गरेको बताउनु भयो । पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन ब्यस्त उहाँले यस वर्ष साना र ठूला दुबै प्रकारको पालाको माग बढेकाले माग अनुसारको उत्पादन गर्न निकै गाह्रो भएको बताउनु हुन्छ ।

माटोको भाडा बनाउदै आएका पोटरी स्क्वायरका करिब ४० घर परिवार प्रजापति समुदायको यतिखेर एकछिन हात खाली छैन, कोही माटोका भाडा बनाइ रहेका, कोही सुकाई रहेका, कोही आधुनिक भट्टीमा भाडा पोखिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै अर्डर आएको ठाउँमा सामान पुर्याउन जान भ्याइ नभ्याई भएको देखिन्छ ।

पोटरी स्क्वायरकै दयाराम प्रजापतिको एक छिन हात खाली छैन । बाजे बराजुको पालादेखि माटोको भाडा बनाउदै आएको उहाँको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आउनु भएको छ ।
उहाँ भन्नुहुन्छ, “यस वर्ष पालाको माग धेरै छ, तिहार लागिसक्यो, माग अनुसारको पाला उत्पादन गर्न भ्याएकै छैन ।” गत दुईवर्ष कोरोना संक्रमणका कारण उत्पादन र माग कम भए पनि यसवर्ष भने माग ह्वात्तै बढे पछि कुमाले समुदायलाई भ्याई नभ्याई भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*