हेटौंडामा करोडौंका सवारीसाधन बेवारिसे
मकवानपुर — वाग्मती प्रदेशका मन्त्रालय तथा सरकारी कार्यालयहरूमा करोडौंको सवारीसाधन बेवारिसे अवस्थामा थन्किएका छन् । सम्बन्धित निकायले समयमै मर्मत तथा लिलाम नगर्दा ती सवारीसाधन बेवारिसे बनेका हुन् ।
हेटौंडास्थित प्रदेश सरकारका मन्त्रालयहरू, जिल्लाका सरकारी कार्यालयहरू र प्रहरी कार्यालयमा सरकारी ढुकुटीमा जम्मा हुन सक्ने करोडौंको मूल्यको सवारीसाधन कबाडी अवस्थामा राखिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयमा नै सयौं यस्ता सवारीसाधन वर्षौंदेखि थुप्रिएका छन् । प्रदेश सरकार बनेको साढे ३ वर्षमै पनि मन्त्रालयहरूमा ठूलो परिमाणमा सरकारी नम्बर प्लेटका र त्यसबाहेकका महँगा सवारीसाधन प्रयोगविहीन छन् । कतिपय त सामान्य मर्मत गरेर प्रयोगमा ल्याउन सकिने भए पनि त्यसतर्फ ध्यान दिइएको छैन । स्थानीय तहहरूले मर्मतसम्भार गरेर सञ्चालन गर्ने भन्दै मागे पनि प्रदेश सरकारले दिएको छैन ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ठूला सवारीसाधन खिया, माटो र झाडीले पुरिएका छन् । मन्त्रालय परिसरभित्र ट्र्याक्टरमा ल्याइएको काठसमेत नझारिकन वर्षौंदेखि यथास्थितिमा राखिएको छ । मन्त्रालयमा एक्स्काभेटर पनि बेवारिसे अवस्थामा छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा टोयोटा गाडी थन्किएको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा समेत ठूला गाडीहरू अलपत्र छन् । अन्य मन्त्रालयको अवस्था पनि उस्तै छ ।
जिल्लास्थित सरकारी कार्यालयहरूमा पनि सरकारी नम्बर प्लेटका र अन्य गरी सबै खालका सवारीसाधन त्यसै मिल्किएका छन् । सवारीसाधन लिलाम गर्न मेकानिकल इन्जिनियरसहितको मूल्यांकन समिति बने पनि मूल्य निर्धारण गर्न समस्या हुने गरेको देखिन्छ । सवारी लिलाम गर्ने क्रममा सवारी किन्न इच्छुकसँग मूल्यमा समेत समस्या पर्ने गरेको जिल्ला अदालत मकवानपुरले जनाएको छ । पुराना सवारीसाधन भएकाले मर्मत गर्नुपर्ने र कर तिर्नुपर्ने हुन्छ । तर, उचित मूल्य कायम गर्न नसकिँदा सवारीसाधन अलपत्र अवस्थामा रहेको हो ।
जिल्लामा प्रहरी प्रमुखको कार्यालयदेखि साना चौकीसम्म सयौंको संख्यामा सवारीसाधन थन्किएर बसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी कार्यालयमातहत कति संख्यामा सवारीसाधन छन् भनेर गणना नगरिए पनि सयौंको संख्यामा रहेको उनको भनाइ छ । तीमध्ये लागूऔषध ओसारपसार गरेका गाडीहरू ८० प्रतिशतभन्दा धेरै रहेको उनले बताए । मुद्दा चलेका अन्य सवारीसाधन ठाउँ नभएर आफ्नै कार्यालयको वरिपरि थन्किएको छ ।
प्रहरी कार्यालयमा आइपुगेका अधिकांश सवारीसाधन कागजपत्र साथमा नभएका, मादक पदार्थ सेवन गरी चलाइएका, निषेधित क्षेत्रमा पार्क गरेका र सवारी नियम उल्लंघन गरेका हुन्छन् । ‘लागूऔषध ओसारप्रसार, गम्भीर घटनामा संलग्न तथा चोरीका सवारीसाधन तत्काल फिर्ता गर्न कानुनले नदिँदा पनि प्रहरी कार्यालयमा सवारीसाधन थन्किएका हो ।’, रिजालले भने, ‘यसरी नियन्त्रणमा लिइएका सवारीसाधन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रहरीकै नियन्त्रणमा रहने गर्छ ।’ प्रहरी कार्यालयमा भारतीय नम्बर प्लेटका सवारीसमेत छन् । कान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।