उनले आगामी निर्वाचनमा ५० प्रतिशत भन्दा बढी मत एमालेले ल्याउने भन्दै देश बनाउन एमालेले जित्नुपर्ने बताए । ‘अन्य दल जनताको नजरमा एक तिहाई छाड्न पनि लायक छैनन्, किन जनताले उनीहरुलाई मत दिने ?’ अध्यक्ष ओलीले भने ।
हाल एक सय दिनसम्म पनि सरकार छ कि छैन भन्ने पत्तो आम जनतालाई नभएको भन्दै ओलीले अगाडि भने, ‘यो पाँच दलीय गठवन्धन परमादेशबाट आएको प्रतिक्रियावादी प्रतिगामी गठवन्धन हो, यसलाई जनताका पक्षमा केही गर्नु छैन ।’
एमालेले १० औं महाधिवेशन चितवनमा गर्न लागेका विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतिर लक्षित नभएको भन्दै ओलीले एमालेले चितवनमा महाधिवेशन गरे पनि नगरे पनि चुनाव जित्ने दावी गरे ।
प्रचण्डलाई भोट माग्न दुई पटकसम्म चितवन आएको स्मरण गर्दै ओलीले भने, ‘अब कति दिन चुनावबाट भाग्छन्, कस कसको शरणमा पुग्छन् थाहा हुन्छ, एमाले एक्लै लड्छ ।’
उनले माधव नेपालको पार्टी एमाले हराउनका लागि मात्रै खोलिएको आरोप लगाए । बामपन्थीलाई हराएर दक्षिणपन्थीलाई जिताउने पार्टी एकीकृत समाजवादी राख्दा नसुहाएको ओलीको टिप्पणी छ ।