भक्तपुर-नगरकोट सडक : ४५ दिनमा काम सक्ने ठेकेदारको प्रतिबद्धता

जनपत्र
१५ कार्तिक २०७८, सोमबार ०६:१५

भक्तपुर-नगरकोट सडक बनाउने ठेकेदारले तिहारपछि ४५ दिनभित्र सडक बनाइसक्ने प्रतिबद्धता जनाएका छन्। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलसँग निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले सडकको काम ४५ दिनभित्र सक्ने प्रतिबद्धता जनाएका हुन्। भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडक जीर्ण छ। भारतीय बैंक एक्जिमको सहयोगमा निर्माण र विस्तार सुरु भएको ५ वर्ष बितिसक्दा पनि सो सडक बनेको छैन।

सडक समयमा नबन्दा सो सडक प्रयोग गर्ने यात्रु, स्थानीय र पर्यटक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्दै आएका छन्। मन्त्री भँडेलसहित, नेपाली कांग्रेस भक्तपुर क्षेत्र १ का सभापति जीवन खत्री, माओवादी केन्द्र भक्तपुरका अध्यक्ष डिपी ढकाल, बागमतीका प्रदेश सांसद प्रतिमा श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज दिलिप प्रजापति लगायतको टोलीले आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवास ललितपुरको खुमलटार पुगेर भेट गर्दै नगरकोटको सडक निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए।

भक्तपुरको ठूलो समस्या बनेको नगरकोट सडकका ठेकेदार अध्यक्ष दाहालको घरबेटीसमेत भएकाले दाहालकै नामसमेत जोडिएर गलत प्रचार हुने गरेको जानकारी गराउँदै मन्त्री भँडेलले सो सडक निर्माणमा सहयोग गर्न आग्रह गरेको बताए। नगरकोट सडक भक्तपुरको राजनीतिक एजेण्डासमेत बन्ने गरेको छ। गतवर्ष सम्पन्न प्रदेशसभाको उपनिर्वाचनको प्रमुख एजेण्डा यही सडक थियो।

निर्वाचनमा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल र वाम गठबन्धनका उम्मेदवार डिपी ढकाल दुवैले सो सडकलाई मुख्य एजेण्डाको रुपमा प्रस्तुत गर्दै निर्वाचन जिते सो सडक निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए।भँडेलले निर्वाचन जितेलगत्तै सो सडकको निर्माणका लागि पहल गरेका थिए। उनको पहल र स्थानीयसमेतको दबाबले निर्माण व्यवसायीले केही काम गरे पनि कोरोनाको कारण देखाउँदै काम रोकेका थिए।

उनी प्रदेशको मन्त्री नियुक्त भएलगत्तै नगरकोट सडकको निर्माणलाई पहिलो प्राथमिकतामा राखेर केन्द्रमा गठबन्धन सरकार भएकोले पनि माओवादी केन्द्रका अध्यक्षसँग भेट गरी सहयोगको आग्रह गरिएको बताए। मन्त्री भँडेलसँगको छलफलपछि अध्यक्ष प्रचण्डले तत्कालै निर्माण व्यवसायी अधिकारीसँग सो सडकबारे छलफल गरेको कांग्रेस भक्तपुर क्षेत्र १ का सभापति जीवन खत्रीले बताए। अधिकारीले प्रचण्ड र मन्त्री भँडेलसँग टेलिफोन कुराकानी गर्दै तिहारलगत्तै काम सुरु गरेर ४५ दिनभित्र निर्माणको काम सक्ने प्रतिबद्धता जनाएको मन्त्री भँडेलले जानकारी दिए। थाहाखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*