देशभर चिसाे बढ्याे : दैनिक १ देखि २ डिग्री सेल्सियस तापक्रम घट्दै
काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशभर चिसो बढेको छ । हिजो काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ ।
काठमाण्डाै उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताउनुभयो । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।
अहिले देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ ।