कस्तो छ बजारमा भाइमसलाको भाउ ?

जनपत्र
१३ कार्तिक २०७८, शनिबार १३:३७

काठमाण्डाै – तिहारमा चाहिने भाइमसलाको कारोबार सुरु हुन थालेको छ । काठमाण्डौको असन लगायतका बजारमा भाइमसलाका आकर्षक प्याकेटहरु सजाइएका छन् । असनमा भाइ मसला बेच्दै गर्नुभएका योगेश्वर मुल्मीको पसलमा १ सय रुपैयाँदेखि १२ सयसम्मका भाइमसलाका प्याकेट छन् ।

पोहोर ५०/६० रुपैयाँमा बेचेको प्याकेटको अहिले १ सय देखि १ सय १० रुपैयाँसम्म पर्ने गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार पोहोरको भन्दा ४०/५० रुपैयाँ बढेकाे छ। तर आफूले प्याकेट मात्रै बेच्ने गरेका कारणले कुन मसलामा कति भाउ बढेको छ भन्ने थाहा नहुने उहाँले बताउनुभयो ।

‘हामीलाई प्याकेटमा ल्याएर दिन्छन् त्यही बेच्ने हो भाउका बारेमा हामीलाई थाहा हुन्न,’ उहाँ भन्नुहुन्छ, ‘बजारमा मान्छेको भिडभाड भए पनि खासै व्यापार छैन । अबका केही दिनमा भने बढ्ला ।’

अर्का व्यापारी राजेश जयसवालले भने अघिल्लो वर्षको तुलनामा केही भाउ बढेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘काजु अघिल्लो वर्ष १४ सय रुपैयाँ थियो अहिले १४ सय ५० देखि १५ सय रुपैयाँसम्म पर्छ । पेस्ता १८ सयमा खासै नबढेको तथा बदाम भने १२ सय भएकोमा अहिले बढेर १३ सय यस्तै छ ।’

अघिल्लो वर्ष करिब ३ सय प्याकेट बेच्नु भएका उहाँ अहिले भने सडकमा मान्छेको भिडभाड भए पनि त्यति बिक्री नभएको र अबको १/२ दिनमा भने धेरै बिक्री हुने बताउनु हुन्छ । उहाँको पसलमा भने प्याकेटको २ सय रुपैयाँदेखि माथिका मसला छन् । अघिल्लो वर्ष यही मसला १ सय पचास रूपैयाँसम्मका बेचेको उहाँ सम्झिनुहुन्छ ।

‘भाउमा खासै फरक छैन,’ छेउमै राखेकाे भाइमसलातर्फ इसारा गर्दैै भन्नुभयाे ‘ग्राहकले भाउ बढ्यो भन्छन् भनेर मसलाको भाउ बढाउने भन्दा पनि मसला घटाउने गरेका छन् व्यापारीले ।’

पहिले १ सय रुपैयाँको प्याकेट मसलामा ४/४ वटा काजु र पेस्ता हुने गरेकोमा अहिले भने ३/३ वटा मात्रै राख्ने गरेको उहाँले बताउनु भयो ।

व्यापारी माधवी गुप्ता भने प्याकेटमा ५/१० रुपैयाँ मात्र बढेको बताउनु हुन्छ । त्यसकारण भाउ बढेको भन्न नमिल्ने उहाँको तर्क छ ।

‘यसको भाउ भने हामीले भन्दा पनि बनाउने मानिसमा भर पर्छ,’ उहाँले भन्नुभयो, ‘कम मूल्यमा बेच्नु छ भने कम मसला र चकलेट राख्छन् । बढीमा बेच्ने मसलामा चकलेट पनि राम्रो र मसला पनि धेरै हुन्छ ।’

नेपाल खुद्रा व्यापार संघका महासचिव तथा असनमा मसलाको व्यापार गर्दै आउनु भएका अमुलकाजी तुलाधर भने मसलाको भाउ नबढेको भन्नुहुन्छ ।

उहाँकाे तर्क छ, ‘कर्नाटकमा ठूलो पानी परेका कारण छोकडामा केही भाउ बढेको छ, अरुमा खासै छैन ।’

नेपाल खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य देवेन्द्र भक्त श्रेष्ठले चीनबाट आउने सामान १/२ कन्टेनर मात्र छोडेको हुनाले पनि छोकडा तथा नरिवल जस्ता केही मसलमा भाउ बढेको र अरुमा नबढेको दावी गर्नुभयो ।

भाइ मसलामा विशेष गरी काजु, पेस्ता, बदाम, मखना, नरिवल, छोकडा, ल्वाङ, सुकुमेल, अलैंची, दालचिनी, किसमिस, अञ्जीर, ओखर, मिश्री, खुर्पानी, सुपारी गरी १६ थरिका मसला पर्छन् । चकलेट र अन्य मिठाइका सामग्री पनि समावेश गरी आकर्षक प्याकेट बनाउने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*