मेरो कार्यकालमा भ्रष्टाचार भएको देख्न पाउनुहुन्न–स्वास्थ्यमन्त्री बिरोध खतिवडा
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उनले आफ्नो कार्यकालमा भ्रष्टाचार नहुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चले बिहीबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले आफ्नो कार्यकालमा अनियमितता भएको सुन्न नपर्ने बताएका हुन् । ‘मेरो कार्यकालमा सकभर भ्रष्टाचार तथा अनिमितता भयो भनेर लेख्न र सुन्न पाउनुहुन्न र पाउन दिन्न भनेर अठोट गरेको छु,’ खतिवडाले भने ।
‘नयाँ मान्छे फेरिनेबित्तिकै झ्याप्पै नयाँ योजना आउँछ भन्ने मलाई विश्वास लाग्दैन । मैले सबै कुरा बुझेपछि के गर्न सकिन्छ भन्ने हो । अहिलेको प्राथमिकतामा हरेक नागरिकले खोप पाउनबाट कोही पनि वञ्चित हुन नपर्ने र छिटो कसरी खोप अभियान सम्पन्न कुरामा ध्यान दिनुपर्नेछ,’ उनले भने ।
त्यस्तै उनले १५ दिनभित्र १ करोड डोज कोरोना खोप आइपुग्ने पनि बताए । ‘१८ वर्ष माथिकाले अहिलेसम्म लगाए । अब १२ वर्ष माथिकालाई पनि लगाउने मिल्ने खोप डब्लूएचओले मान्यता दिइसकेको फाइजर र मोडर्नाको १ करोड डोज खोप बुक गरिसकेका छौँ । ५० लाखलाई लगाउन पुग्छ । सम्भवतस् १५ दिन आसपासमा आउँछ ।’
त्यसैगरी भारत र चीनले मान्यता पाएपछि १२ वर्ष मनिका बालबालिकालाई लगाउन मिल्ने कोभिडविरुद्धको खोप पनि ल्याउन प्रक्रिया सुरु गरिने उनले जनाए ।