४४ महिना २१ दिनपछि बागमती प्रदेशमा कांग्रेसको सत्तारोहण

जनपत्र
११ कार्तिक २०७८, बिहीबार १७:१०

मकवानपुर — प्रदेश सरकार गठन भएको ४४ महिना २१ दिनपछि नेपाली कांग्रेस वाग्मती प्रदेशको सत्तामा पुगेकोछ । आज प्रदेश प्रमुख यादब चन्द् शर्माले तीन दलका सांसदलाई मन्त्रीमा पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो । सपथ ग्रहणपछी काग्रेश प्रदेशको सत्तामा पुगेको छ । प्रदेश सरकार स्थापनाको समयमा २१ मत बोकेको कांग्रेस विपक्षी दलको भूमिकामा ३ वर्ष ८ महिना २१ दिन बिताएको थियो ।

२०७४ माघ २९ गते १ सय १० सांसद रहेको प्रदेशसभामा नेकपा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट ८१ मतसहित डोरमणि पौडेल मुख्यमन्त्री बनेका थिए । तत्कालिन समयमा सर्वोच्चको आदेशसँगै नेकपाको अस्तित्व एमाले–माओवादीको रुपमा कायम भएसँगै केही कमजोर देखिएको पौडेल नेतृत्वको सरकार नेकपा एमाले फुटसँगै अल्पमतमा परेको थियो । अल्पमतमा परेसँगै पौडेलले ४२ महिना १० दिनपश्चात् आफ्नो पद छाडेका थिए । उनीको बहिर्गमनसँगै नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले दुई महिना ११ दिन प्रदेश सरकारको जिम्मेवारी निर्वाह गरिन् ।

शाक्यले राजीनामा दिएसँगै वाग्मती प्रदेशमा गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पाटीको सरकार बन्ने निश्चित भइसकेको छ । नेकपा (एस) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बन्ने सरकारमा कांग्रेसको पनि उपस्थिति हुँदैछ । यसलाई कांग्रेसले अवसर र चुनौती दुवैको रुपमा हेरेको छ । ‘धेरै अवसर थोरै चुनौतीका रुपमा हामीले यसलाई लिएका छौं,’ कांग्रेस सचेतक छिरिङ दार्जे लामाले भने, ‘प्रतिपक्षीको बेञ्चमा बसेर लामो समय सरकारले गरेको गल्ती, कमीकमजोरीलाई सुक्ष्म ढंगले औंल्याइरहेको थियौं । अब प्रदेश सरकारमै रहेर औंल्याएका समस्या समाधान गर्न प्रयास गर्नेछौं ।’

कांग्रेस आफ्नो नेतृत्वमा नभएर गठबन्धनको सरकारमा सहभागी भए पनि अघिल्लो प्रदेश सरकारले आमजनतामा पारेको नकारात्मक प्रभाव हटाउन प्रयास गर्ने लामाले बताए । ‘अघिल्लो सरकारप्रति रहेको अविश्वास, रिसलाई हटाएर जनतामा सकारात्मक प्रभाव पार्ने काम हामी गर्नेछौं,’ उनले थपे । तत्कालीन अवस्थामा ८१ मत रहेको नेकपाको अस्तित्व समाप्त हुँदा नेकपा एमाले ५८ र माओवादी २३ सिटमा झरेको थियो । एमालेबाट निर्वाचित दुई सांसद हरिशरण लामिछाने र पशुपति चौलागाईंको निधनसँगै सदनमा एमालेको ५६ सिट कायम रहेको थियो ।

लामिछानेको निर्वाचन क्षेत्र भक्तपुरमा भएको उपनिर्वाचनमा कांग्रेसतर्फबाट कृष्णलाल भडेल विजयी भएसँगै कांग्रेसको २२ सिट भएको थियो । कांग्रेस संसदीय दलका उपनेता रहेको भडेलकै नेतृत्वमा कांग्रेस सत्तामा जाँदैछ । गठबन्धन सरकारमा कांग्रेसले तीन मन्त्री र एक राज्यमन्त्री प्राप्त गर्ने सम्भावना रहेको छ । चौलागाईंको क्षेत्रमा उपनिर्वाचन भएको छैन ।

सदनमा ५६ सिट रहेको एमाले विभाजन भएर १३ सांसदले नेकपा ९एस० रोजेसँगै वाग्मतीमा एमाले प्रतिपक्षी दलको भूमिका पुगेको हो । अब एमाले ४३ सिटसहित प्रमुख विपक्षी दल भएको छ । यस अवधिमा सत्तापक्षले कांग्रेसले उठाएको विषय कहिले पनि सम्बोधन गरेन । सांसदको संख्या कम भएका कारण सदनमा प्रतिपक्षीको भूमिका असाध्यै कमजोर देखिन्थ्यो ।

‘सदनमा हाम्रो उपस्थिति कम भए पनि नागरिकसँग प्रत्यक्षरुपमा जोडिएको विषयमा हामीले बोल्न छाडेनौं । सदनलाई बन्दी पनि बनाएनौं । अब पनि हामी जनताकै पक्षमा काम गर्नेछौं,’ कांग्रेस सांसद निमा लामाले भने,‘सरकारलाई गति दिन र आमजनतामा प्रदेश सरकारप्रति रहेको नकारात्मक टिप्पणी हटाउनु हाम्रो पहिलो दायित्व हुनेछ ।’ इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*