राजेन्द्र पाण्डे : शिक्षकदेखि बागमतीका मुख्यमन्त्रीसम्म
मकवानपुर — नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि पाण्डेले आज पद तथा गोपनियताको शपथग्रह गरेका हुन् ।
शाक्यको राजीनामालगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि बिहीबार ३ बजेभित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए । पाण्डेले माओवादी, कांग्रेस, जनता समाजवादी र एकीकृत समाजवादीका गरी कुल ५९ सांसदको समर्थनसहित बुधबारै मुख्यमन्त्रीमा दाबी पेस गरेकै भोलीपल्ट आज प्रदेश प्रमुख यादब चन्द्र शर्मा समक्ष शपथ ग्रहण गरेका हुन् । ‘
प्रदेश सरकारको स्थापनासँगै वाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा राजेन्द्र पाण्डेको नाम चर्चामा थियो । तर, एमालेभित्रको विवादका कारण उनी पछाडि परे । धादिङ क्षेत्र १ (१) बाट एमालेका तर्फबाट निर्वाचित पाण्डे पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता भएका हुन् । २०१३ साल जेठ २९ मा गजुरीमा जन्मिएका उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका उनी सुरुमा शिक्षण पेसामा आबद्ध थिए । ‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन राजनीतिमा लागेको हुँ,’ उनले भने ।
पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए । धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनले स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी अहिले नेकपा ९एस० को केन्द्रीय उपाध्यक्ष छन् ।
उनी २०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उनको भेट झापाली राजबन्दीसँग भएको थियो । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उनी सक्रिय राजनीतिमा लागेका थिए । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उनलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।
जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए ।पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए । इकान्तिपुरबाट ।