रुकुमकाे सोती घटना : वादी पक्षका १२ साक्षीको बकपत्र सकियो

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोती गाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका वादी पक्षको आजदेखि अदालतमा बकपत्र सुरु भएको छ ।
हिजो मङ्गलवार दुवै पक्षका साक्षीहरूको हाजिर गरेर बकपत्र सुरु गरिएको थियो । रुकुम जिल्ला अदालतमा वादी पक्षका १२ जना साक्षीहरूको बकपत्रको कार्य सकिएको स्रेस्तेदार कृतबहादुर बोहराले बताउनुभयो ।
साेती गाउँ घटनाका १२ जना घाइतेसहित वादी तर्फका ३९ जना साक्षीले बकपत्र गर्नेछन् । बादीतर्फका साक्षीहरूकाे बकपत्र सकिएपछि प्रतिवादीतर्फका साक्षीहरूको वकपत्र हुने छ । प्रतिवादीतर्फका २३ जनालाई पनि हिजाे नै बकपत्रका लागि हाजिरी गराइएको छ । स्रेस्तेदार बोहराका अनुसार पर्सि शुक्रवारसम्म दुवैतर्फका साक्षीहरूकाे बकपत्र गराइ सकिने अनुमान गरिएको छ ।
सोती घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका ८ सोती गाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो ।
तीमध्ये २३ आरोपीलाई पुर्पक्षका लागि कारागारमा राखिएको र ११ जना तारेखमा छाडिएका छन् । अदालतले थुनछेक आदेशबाट वारदात गर्न षड्यन्त्र गरेको आरोप लागेकी केटीकी आमालाई एक एक लाख रुपैयाँ धरौटीमा तथा घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादा तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो ।
बाल सुधार गृहमा रहेकी मृतक नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरी र एक किशोरलाई अभिभावकको जिम्मामा रहने गरी उच्च अदालत सुर्खेतले साधारण तारेखमा छाडेको थियो ।
त्यस्तै सर्वाेच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर घर्तीलाई पनि साधारण तारेखमै छाडेको थियो ।
जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीको यस घटनामा ज्यान गएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।