कांग्रेस महाधिवेशन : सातौँ पटक कार्यतालिका परिवर्तन

जनपत्र
११ कार्तिक २०७८, बिहीबार ०८:१६

काठमाण्डाै – नेपाली कांग्रेसले सातौँ पटक महाधिवेशन कार्यतालिका परिवर्तन गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिको हिजोको बैठकले महाधिवेशन अन्तर्गतका प्रक्रिया छठपछि सुरु हुने गरी कार्यतालिका तयार पारेको हो । यसबारे आज निर्णय गरेर कार्यतालिका सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी  छ ।

तयारी भएको कार्यतालिकाअनुसार यसअघि रोकिएको अधिवेशन प्रक्रिया आउँदो २७ गतेदेखि सुरु गर्ने र केन्द्रीय महाधिवेशन मङ्सिर २७ गतेदेखि २९ गतेसम्म गर्ने उल्लेख गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो।  यसैगरी जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मङ्सिर १० गते तथा प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने तय गरिएको उहाँले बताउनुभयो ।

कांग्रेसले यसअघि महाधिवेशन मिति मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको थियो । पार्टीले गएको  भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गरेकोमा अहिलेसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

यसबाहेक ४७ जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी चार जिल्लामा वडा अधिवेशन सम्पन्न भइ केहीबाहेक पालिकास्तरको अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*