नयाँ महसुल दर निर्धारण विद्युतको: २० युनिटसम्म विद्युत् खपत गर्दा ३० रुपैयाँ तिरे पुग्ने

जनपत्र
११ कार्तिक २०७८, बिहीबार ०६:५०

विद्युत् नियमन आयोगले मङ्सिरदेखि लागु हुने गरी विद्युतको नयाँ महसुल दर निर्धारण गरेको छ । आयोगले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिर्नु पर्ने गरी नयाँ महसुल दर निर्धारण गरिएको बताउनुभयो ।

मासिक २० युनिट भन्दा कम विद्युत् खपत गर्ने करिब २० लाख ग्राहकले यो सुविधा प्राप्त गर्ने आयोगले जनाएको छ । यसै गरी सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १ सय ५१ देखी २ सय ५० युनिट सम्म खपत गर्ने ग्राहकलाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा महसुल कायम गरिएको छ । मासिक ४ सय युनिट भन्दा माथि खपत गर्ने ग्राहक वर्गका उपभोक्तालाई प्रतियुनिट ११ रुपैयाँ महसुल कायम गरिएको आयोगका अध्यक्ष सिंहले बताउनुभयो ।

आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ ।यसबाट घरायसी प्रयोजनमा समेत विद्युतको उपभोग बढ्ने र खाना पकाउने एलपि ग्यासको आयातमा केही भए पनि कमी आउने आयोगको विश्वास रहेको अध्यक्ष सिंहले बताउनुभयो । आयोगले सिँचाइका लागि विशेष सहुलियत स्वरूप महसुलमा ८० प्रतिशतसम्म घटाएको विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*