बागमतीमा मुख्यमन्त्री दाबी गर्न भोलि ३ बजेसम्मको समय

जनपत्र
१० कार्तिक २०७८, बुधबार १६:५६

मकवानपुर – वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधवार राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले संविधानको धारा एक सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि आह्वान गर्नुभएको हो । बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न भोलि दिउँसो ३ बजेसम्मकाे समय दिइएको छ ।

वाग्मती प्रदेशमा यसअघि संविधानको धारा एक सय ६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शाक्यको नेतृत्वमा सरकार बनेको थियो । विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरिसकेको छ ।

प्रदेश सभामा एमालेका ४३‚ माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३‚ विवेकशील साझा पार्टीका तीन‚ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई/दुई तथा जनता समाजवादी पार्टीका एक सांसद् छन् ।

सरकार बनाउन कम्तीमा ५५ सांसदको समर्थन चाहिन्छ । एमाले विभाजन भएपछि अल्पमतमा पर्नुभएकी अष्टलक्ष्मी शाक्यले आज प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । शाक्यको मुख्यमन्त्री कार्यकाल ७१ दिनको रह्यो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*