धनगढीमा प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला

जनपत्र
१० कार्तिक २०७८, बुधबार १२:३६

कैलाली – धनगढीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला न्यायाधीश पनेरूले जानकारी दिनुभयो ।

उनीहरुले अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदकाे हत्या गरेका थिए । नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेका थिए ।

हत्याकाण्डको अनुसन्धानका क्रममा धनगढीका व्यापारी राजिव गुप्ता पनि पक्राउ परेका थिए । जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले अन्य ९ जनालाई जन्मकैदको फैसला सुनाएकोमा गुप्तालाई भने सफाइ दिएको छ । प्रहरीको हत्या भएको राति जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको थियो भने पछि उनी धरौटीमा छुटेका थिए ।

सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता सुरबहादुर परियारले गुप्ताको हत्यामा संलग्नता नदेखिए भन्दै उनलाई सफाइ दिइएको जानकारी दिनुभयो । ‘गुप्तालाई मतियार बनाएर अनुसन्धान गरिएको थियो’, उहाँले भन्नुभयो, ‘तर उनको संलग्नताबारे ९ जनाले पनि केही बोलेनन् । प्रत्यक्ष संलग्न पनि देखिएनन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*