बोर्डबाट पाइने आर्थिक सहायता र बिमाको रकम एउटै बैङ्क खातामा पठाउने तयारी

जनपत्र
९ कार्तिक २०७८, मंगलवार १५:४७

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता र बिमाको रकम मृतक कामदारको परिवारको  एउटै बैङ्क खातामा पठाउने गरी प्रक्रिया अघि बढेको छ ।

बोर्डबाट पाइने आर्थिक सहायता रकम बैङ्क खातामै प्राप्त भए पनि बिमाको रकम लिन काठमाण्डौ नै धाउनु पर्ने बाध्यता कायम रहेको भन्दै एउटै खातामा रकम पठाउन मिल्ने गरी प्रक्रिया अघि बढाएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

‘अहिले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले बोर्डबाट पाइने आर्थिक सहायताको लागि पालिकाबाटै निवेदन दिन सक्ने र बैङ्क खातामा रकम जाने व्यवस्था छ, तर पनि उहाँहरू बोर्डको सचिवालयमा आइरहनुहुन्छ, त्यसको एक मात्र कारण भनेको बिमाको रकम लिन काठमाण्डौ नै आउनु पर्ने बाध्यताले हो,’ उहाँले भन्नुभयो,‘त्यसैले बिमाको रकम पनि बोर्डको आर्थिक सहायता प्राप्त भएको बैङ्क खातामा नै पठाउने गरी बोर्डले नै तयारी अघि बढाएको हो ।’

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार बोर्डमा आर्थिक सहायताका लागि प्राप्त भएका प्रमाणित कागजात र निवेदनको आधारमा बिमाको रकम पनि त्यही बैङ्क खातामा पठाउने गरी सहमति भइसकेको छ ।

त्यसका लागि बोर्डले बिमा समिति, वैदेशिक रोजगारीमा जानेहरूको बिमा गर्ने बिमा कम्पनी लगायतसँग छलफल गरेको थियो । बोर्डले अघि बढाएको छलफलमा बिमा समिति र बिमा कम्पनीहरू सहमत भएका छन् ।

त्यही सहमतिको आधारमा बोर्डले सबै प्रक्रिया मिलाएर अघि बढ्नका लागि छुट्टै कमिटी(टाक्स फोर्स ) गठन गरिसकेको छ ।

कमिटीले दिएको सुझावको आधारमा सम्बन्धित पक्षसँग समन्वय गरेर थप प्रक्रिया अघि बढाउने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

वैदेशिक रोजगारीको  क्रममा करार अवधि भित्र वा करार नाघेको एक वर्ष भित्र श्रमिकको मृत्यु भएमा सम्बन्धित पालिकाले नजिकको हकदार भनेर किटानी सिफारिस गरेको हकदारलाई वैदेशिक रोजगार बोर्डले सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ । यस्तो आर्थिक सहायता लिनका लागि अहिले आफ्नो पालिकाबाटै बोर्डमा निवेदन दिन मिल्ने प्रावधान छ ।

बोर्डले हकवालाको बैङ्क खातामा रकम पठाउँछ । तर बिमाको रकम लिन भने अहिले पनि मृतक कामदारका हकदार काठमाण्डौ नै धाउन पर्ने बाध्यता छ । यही बाध्यताको अन्य गर्दै बिमाको रकम पनि सिधै बैङ्क खातामा पठाउने व्यवस्था गर्न लागेको बोर्डले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*