वीरगंज भन्सारबाट कर्मचारीको सेटिङमा प्रतिबन्धित ‘कम्बाइन हार्भेस्टर’को जाँचपास!

जनपत्र
८ कार्तिक २०७८, सोमबार ०७:१३

मुलुकको प्रमुख भन्सार नाकाको रुपमा चिनिने वीरगंज भन्सार मातहतको आईसीपी नाकाबाट दुई थान प्रतिबन्धित कम्बाइन हार्भेस्टरको जाँचपास भएको घटना सार्वजनिक भएको छ। भन्सार कर्मचारीको सेटिङमा आयात जाँचपास भएको सूचना पाएपछि दुई थान हार्भेस्टर नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

उनले भन्सार ऐन विपरित ‘स्ट्र कलेक्टर वा बेलर बिनाको कम्बाइन हार्बेस्टर’ मेसिनको आयात गरिएको सूचना पाएपछि आफूहरुले गत बिहीवार राति १० बजे वीरगंज(२१ परवानीपुर चोकबाट ती हार्भेस्टर नियन्त्रणमा लिएको बताए। उनका अनुसार वाणिज्य मन्त्रालयको २०७६ असार २ मा प्रकाशित राजपत्रको सूचनाको भाग ५ खण्ड ६९ को संख्या ११ को दफा ४ मा ‘पैठारीका लागि पूर्ण बन्देज लागेको बस्तु’को सूची रहेको छ। सूचीको बुँदा ‘च’ मा ‘‘स्ट्र कलेक्टर वा वेलर बिनाको कम्बाइन हार्भेस्टर’ उल्लेखित छ।

त्यसैको आधारमा प्रहरीले हार्भेस्टर नियन्त्रणमा लिएको उनले स्पष्ट पारे। प्रहरीले शुक्रवार बिहान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउन पठाउँदा कार्यालयले बुझ्न मानेको थिएन। आइतवार वीरगंज भन्सारमा हार्भेस्टर पठाउँदा पनि आवश्यक कारबाही गर्न वीरगंज भन्सार तयार नभएपछि पर्सा प्रहरीले अहिले उक्त हार्भेस्टर बसपार्कमा आफ्नो निगरानीमा राखेको छ।

स्रोतका अनुसार यस्तै तीन वटा मेसिन हाल वीरगंज भन्सारको आईसीपी भन्सार यार्डमा जाँचपासको क्रममा छ। स्रोतका अनुसार प्रति मेसिन १ लाख घुस दिएर प्रतिबन्धित कम्बाइन हार्भेस्टर जाँचपास गराइएको छ।

नियम विपरित भित्रिएको सिमरन ब्रान्डको कम्बाइन हार्भेस्टर भारतको नाभा जिल्लाको मुण्डे मेकानिकल वर्क्सबाट रुपन्देहीको फैज ट्रेड लिंकले आयात गरेको हो। पन्जाबबाट सुनौली नाका नजिक परे तापनि भैरहवा नाकाबाट गैरकानुनी रुपमा मेसिन भित्रियाउन नसकेर अयातकर्ताले घुस खुवाएर टाढाको नाका वीरगंजबाट उक्त मेसिन ल्याएका हुन्।

२९ लाख ९० हजार पर्ने एउटा मेसिनको प्रज्ञापन पत्रमा भन्सार अधिकृत बुद्धि चुडालले र अर्को गाडीको प्रज्ञापन पत्रमा भन्सार अधिकृत धर्मराज सुवेदीले हस्ताक्षर गरेका छन्। यस विषयमा वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलसँग बुझ्दा उनले पुरानो भन्सार विभाग अर्थात २०७१ कात्तिक ११ को परिपत्र अनुसार जाँचपास भएको हुन सक्ने बताए।

त्यसबेला स्ट्र कलेक्टर वा बेलर बिनाको कम्बाइन हार्भेस्टर भित्रियाउँदा बाली काट्दा पराल वा गहुँको छवालीलाई वातावरण प्रदुषण नहोस भनेर शर्तनामा गरी आयात स्वीकृति गर्ने व्यवस्था थियो। त्यसैको आधारमा मेसिनको जाँचपास गरिएको भन्सार स्रोतको दावी छ।

प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘साथीहरुले के हेरेर जाँचपास गरेका हुन्, जानेर गल्ती नभएको होला। यस बारेमा कृषि विज्ञसँग बुझेर आवश्यक कारबाहीको प्रकृया अघि बढाउछु।’ उनले वीरगंज भन्सारमा कर्मचारीको मिलोमतोमा अबैध मालवस्तुको जाँचपास हुने वा न्यून विजकीकरणको समान भित्रिने प्रश्नमा त्यस्तो आरोप लगाउने खालको मात्र भएको र आधारहीन भएको प्रतिक्रिया दिए।

खाली हार्भेस्टरको ३० लाख देखि ३५ लाख पर्छ। स्ट्र कलेक्टर वा बेलरसहितको ल्याइयो भने थप २५ लाख पर्छ। त्यसकारण कम दाममा सामान ल्याएर बेच्ने नियतले आयातकर्ताहरु ऐन मिचेर स्ट्र कलेक्टर वा बेलर बिनाको कम्बाइन हार्भेस्टर मगाउने गरेका छन्। पहिलोपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*