बाढी र पहिरोका कारण बन्द सडक खुलाउने काम चल्दै
काठमाण्डाै – बाढी र पहिरोका कारण बन्द भएका सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।
सम्बन्धित डिभिजन कार्यालयमार्फत खुलाउने काम भइरहेको हो । पहिरो हटाउने, मर्मत गर्ने लगायतका काम भइरहेको सडक विभागका उपमहानिर्देशक शिव प्रसाद नेपालले जानकारी दिनुभयो । मेसिन तथा उपकरणको सहायताले सडक खुलाउने काम भइरहेको हो ।
गएको दुई गतेदेखि बन्द भएको बझाङको खोड्पे चैनपुर बाहेकको सबै सडक खुलाउने काम भइरहेको र केहीदिन भित्रै खुलिसक्ने उहाँले बताउनुभयो । राजमार्गसँग धेरै ग्रामीण सडक पनि जोडिएको र धेरै ठाउँमा पहिरो गएकाले खुलाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।
मनाङको डुम्रे–बेसीसहर–चामे सडक, बझाङको खोड्पे चैनपुर, पुष्पलाल राजमार्ग अन्तर्गत पर्ने डडेलधुराकाे सकायल–रडुवा सडक, मनाङकै निगालाघारी, खोत्रो र दानाक्यु, जालीबगर, दार्चुलाको धनगढी–सहजपुर–बुडर–स्याउले–दार्चुला–तिङ्कर सडक मर्मतको काम भइरहेको छ ।
यस वर्षको वर्षा सुरु भएपछि दुई सय ४४ ठाउँको सडक बन्द भएकोमा अहिले छ ठाउँमा बन्द छ । एक सय ३९ सडक एकतर्फी र ९९ ठाउँको सडक पूर्ण रूपमा सञ्चालनमा आएका सडक विभागले जनाएको छ ।