अपहरणका आरोपीले सफाइ पाएको प्रकरण : अनुसन्धान अधिकृतलाई कारबाही गर्न सिफारिस
काठमाडौं । कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका अभियुक्तले सफाइ पाएको निष्कर्षसहित तीन प्रहरी अधिकारी कारबाहीमा पर्ने भएका छन् ।
भ्याल्ली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एक दुर्गाबहादुर बुढाथोकीले सफाइ पाएपछि छानविनका लागि गठित समितिले तीन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी चक्रबहादुर सिंहको नेतृत्वमा बनेको छानविन समितिले काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक नानीकाजी थापासहित एक/एक जना असई र हवल्दारलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सिंह नेतृत्वको समितिले मुद्दा कमजोर बनाउने उनीहरुको नियत नभएपनि लापरबाही भएको निष्कर्ष निकालेको छ ।
साथै, आगामी दिनमा काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दा शाखा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा राख्न पनि सुझाएको छ । काठमाडौं प्रहरी परिसरमा मुद्दाको चाप बढी हुने हुँदा पनि अनुसन्धान अधिकृतले सबै कुरामा ध्यान दिन नपाएको छानविन समितिको निष्कर्ष छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ पुस २०७७ मा भारतबाट बुढाथोकीलाई पक्राउ गरेको थियो । प्रहरीसँगको बयानमा उनले रावलको अपहरणमा संलग्नता स्वीकारेका थिए । सरकारी वकिलसमक्ष पनि उनले संलग्नता स्वीकारेका थिए । तर अदालतमा उनले इन्कारी बयान दिए ।
अनुसन्धान अधिकृतले उनी नेपाली नागरिक भएको प्रमाणित गर्ने आधार बुझाएका थिएनन् । त्यसैमा टेकेर जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले बुढाथोकीलाई सफाइ दिने विवादास्पद फैसला गरेका थिए । आदेशविरुद्ध सरकारी वकिलले पुनरावेदन गर्ने तयारी गरेको छ ।