प्रदेश १ र बागमतीमा एमालेले सभामुखसँग मिलेमतो गर्‍यो : एकीकृत समाजवादी

जनपत्र
६ कार्तिक २०७८, शनिबार ०६:४०

प्रदेश १ र बागमती प्रदेशमा नेकपा ९एमाले०ले सभामुखसँग मिलेमतो गरेको माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आरोप लगाएको छ।

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार जारी गरेको विज्ञप्तिमा यसलाई एमालेको निकृष्ट सत्तालिस्पा भनिएको छ। “प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनको बैठकले गरिसकेको छ,” खतिवडाले विज्ञप्तिमा भनेका छन्, “यद्यपि एमालेले दुवै प्रदेश सरकारमा अल्पमतमा परिसके पनि निकृष्ट सत्तालिप्सा प्रदर्शन गर्दै विश्वासको मत लिने प्रक्रिया टार्न सभामुखसँग मिलेमतो गर्दै रहेको तथ्य जगजाहेर छ।”

मिलोमतो गरे पनि केही दिनमै दुवै प्रदेशबाट एमाले सत्ताच्युत हुने खतिवडाको भनाइ छ। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने तय गरिएको भए पनि सभामुख प्रदीपकुमार भण्डारीले ७ कात्तिकसम्म प्रदेश सभा बैठक स्थगित गरेका थिए।

त्यस्तै बागमती प्रदेशमा बिहीबार विश्वासको मत लिने तय भए पनि एमाले सांसदले उपस्थित नहुने जनाएपछि १० कात्तिकसम्मका लागि बैठक स्थगित गरिएको थियो। दुवै प्रदेशमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन गर्ने विपक्षी गठबन्धनले तय गरेको छ।

७३ जिल्ला कमिटी गठन

एकीकृत समाजवादीले ७३ वटा जिल्लामा संगठन विस्तार गरेको जनाएको छ। मनाङ, मुस्ताङ लगायतका चार वटा जिल्लामा मात्रै कमिटी गठन गर्न बाँकी रहेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए। वर्षा, बाढी, पहिरो जस्ता कारणले ढिलो भएका जिल्लामा पनि तुरुन्तै संगठन निर्माण गरिने उनले बताए।

चार वटा गैरभौगोलिक जिल्ला कमिटी समेत गठन भइसकेको खतिवडाले बताएका छन्। एमालेबाट विभाजित भएर गठन भएको यो पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ।

हिमालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*