भीम रावलद्वारा १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट राजीनामा
नेकपा एमालेले कार्तिक १२ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन सम्बन्धि मापदण्ड तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । बैठकले रामबहादुर थापा नेतृत्वको २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीलाई पनि १ सदस्य पछि थप गर्ने गरी पूर्णता दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले १० बुँदे सहमति आमरुपमा कार्यान्वयन भएको निष्कर्ष निकाल्दै कार्यान्वयन हुन बाँकी रहेका ठाउँहरुमा आगामी केन्द्रीय कमिटीको बैठकसम्म कार्यान्वयन गरिसक्न पनि सम्बन्धित कार्य दललाई निर्देशन दिएको छ । त्यसैगरी रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समिरलाई पार्टी केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलबाट राजीनामा दिएका छन् । कार्यदलको सदस्य समेत नरहने गरी राजीनामा दिने घोषणा गरेको उनले बताए ।
उपाध्यक्ष रावलले पार्टीको विधि, प्रक्रिया र निर्णय विपरीत दुई जना केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेकोमा पनि फरक मत राखेका छन् । उनले पार्टीको अन्तर पार्टी निर्देशन पद्धति, प्रक्रिया र निर्णय विपरीत भएकाले आफूले फरक मत राखेको बताए ।