सन् २००९ पछिका अक्टोबरमध्ये यो वर्षको अक्टोबरमा सबैभन्दा धेरै वर्षा
काठमाण्डाै – यो वर्षको अक्टोबर महिनामा सन् २००९ पछिका अक्टोबरमध्ये सबैभन्दा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाएको छ ।
नेपालमा ६६ मिलिमिटर पानी पर्नुलाई सरदर वर्षा मान्ने गरिएको छ । काठमाण्डौमा मात्रै यो महिनामा ६७ दशमलव २ मिलिमिटर पानी परेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष हिउँदमा पनि ‘औसतभन्दा बढी’ पानी पर्ने सम्भावना देखिएको छ ।
प्रदेश नम्बर १, २, वाग्मती र लुम्बिनी प्रदेशका तराईका जिल्लामा अक्टोबर, नोभेम्बर र डिसेम्बरमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । अहिले प्रदेश १ र वाग्मती प्रदेशको एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । देशभरका अन्य ठाउँमा भने सामान्य बद्ली रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।
आज राति प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन, चट्याङससहित हल्का पानी पर्ने सम्भावना रहेको छ । यो क्रम भोलि शनिवार पनि रहने भएकाले खेतीबालीको काम गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
गएकाे आइतवारदेखि लगातार पाँच दिनसम्म परेको पानीले देशका धेरै ठाउँमा बाढी, पहिरो जानुका साथै तराईका धेरै ठाउँ डुबानमा परेका छन् ।
हिजो शुक्रवार मौसम सफा भएर घाम लागे पनि फेरि पश्चिमी वायुको प्रभावले मौसम धुम्मिएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा आज मौसम बदली भएको छ । काठमाण्डौमा केही चिसो महसुस गरिएको छ ।