विपदमा जनप्रतिनिधिको बेवास्ता

जनपत्र
५ कार्तिक २०७८, शुक्रबार ११:४८

दैलेख – लगातारको वर्षाका कारण आइपरेका विपदमा परेकालाई उद्धार तथा पुन:स्थापना गर्न जनप्रतिनिधिले बेवास्ता गरेका दैलेखका स्थानीय बासिन्दाकाे गुनासाे छ ।

पहिराेले बन्द भएका सडक खुलाउन तथा घर भत्किएका व्यक्तिलाई सहयाेग जुटाउन पहल गरे पनि जनप्रतिनिधिले वास्ता नगरेका उनीहरुले गुनासाे गरेका हुन् ।

वर्षाका कारण घर भत्किएपछि जनप्रतिनिधिसँग पुन:स्थापनाका लागि अपिल गरे पनि कुनै सहयाेग नपाएकाे स्थानीय डिल्ली परियारले बताउनु भएकाे छ । आठ लाख लागतमा निर्माण भएकाे घर भत्किएपछि विवरण टिपाउँदा पनि दुई लाख मात्रै क्षति भएकाे विवरण वडा कार्यालयका सचिवले टिपेकाे उहाँले गुनासाे गर्नुभयाे ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले समेत बन्द भएका सडक सञ्चालनमा ल्याउन सहयाेगका लागि फाेन गर्दा जनप्रतिनिधिहरुसँग सम्पर्क हुन नसकेकाे बताउनु भएकाे छ । ‘कर्णाली राजमार्ग, दैलेख–सुर्खेत र मध्यपहाडी राजमार्गमा ठाउँठाउँ पहिरोले सडक बन्द भएको बेला सहयोग माग्न खोज्दा जनप्रतिनिधिहरुले मोबाइल अफ गरेर बसेका समेत पाइयो’ उहाँले भन्नुभयाे ।

यस्तै दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले पनि पहिरोले सडक बन्द हुँदा प्रहरीमै गुहार माग्न थालेपछि सडक विभागको डोजर ल्याएर आफूले डिजेल भरेर सडक खुलाउनु परेको बताउनु भएकाे छ ।

‘बाटोमा अलपत्र परेका यात्रुका मर्का सुन्नै पर्याे । पाकेटकै पैसा खर्च गरेर सडक खुलाइयो’ डीएसपी श्रेष्ठले भन्नुभयो । कर्णाली नदीमा बहाव बढेपछि आठबीस नगरपालिका–१ रामाघाट, वडा नं. २ को टुनीबगर, चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ पालतडाका स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने, दैलेख–सुर्खेत राजमार्गको सियाकोट र कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो हटाउन प्रहरीले नै पहल गरिरहेकाे छ ।

कर्णाली राजमार्ग बन्द भएयता आठबीस नगरपालिकाका मेयर खड्गप्रसाद उपाध्यायका दुई वटै मोबाइल अफ गर्नुभएकाे स्थानीयले बताएका छन् ।  ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने आफू यति बेला सुर्खेतमा भएको बताउनु भएकाे छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेवी शाहले भन्नुभयो ‘धेरैले मोबाइल अफ गरेको र आफ्नै जनतालाई विपद् परेको ठाउँमा उपस्थित नभएको भन्ने मैले सुनेँ, यो जनप्रतिनिधिहरुको गैरजिम्मेवारीपन हो।’ दशैँमा सबै व्यस्त भएका र कर्मचारीहरु नभएको बेला भौतिक सहयोग गर्न सक्ने अवस्था नभएका कारण जनप्रतिनिधिहरुले बेवास्ता गरेको पाइएको उपप्रमुख शाहले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*