मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान नगरी कात्तिक १० गतेसम्म प्रदेशसभा स्थगित
हेटौंडा । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ ।
बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।
वाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु थप एक सातासम्मका लागि लम्बिएको छ । शाक्यको विश्वासको मत लिने प्रस्तावमाथि बिहीबारको प्रदेशसभाको बैठकमा छलफल सुरू भए पनि विश्वासको मत लिने बाँकी प्रक्रिया अर्को बैठकमा मात्रै हुने भएको हो ।
प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित गठबन्धनको स्पष्ट बहुमत जुटिसकेको छ । तर, सत्तारुढ एमालेले पार्टीको अधिवेशनलाई कारण देखाउँदै विश्वासको मत लिने प्रक्रियाका लागि समय मागेपछि सभामुखले एक साता ढिलो गरी अर्को बैठक राखेका हुन् ।
बिहीबारको बैठकमा धारणा राख्दै विपक्षी गठबन्धन सम्बद्ध दलका नेताहरुले मुख्यमन्त्री शाक्यलाई राजीनामा दिन माग गरेका थिए । प्रदेशसभामा विश्वासको मत लिने प्रक्रियामा जाँदा पनि विश्वासको मत पाउने अवस्था नरहेको भन्दै विपक्षी गठबन्धनका नेताहरुले मार्गप्रशस्त गर्न माग गरेका हुन् ।
प्रदेशसभामा हाल १०९ ९सभामुखसहित० सांसद छन् । त्यसमध्ये गठबन्धनसँग माओवादी केन्द्र २३, कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादीका १ गरी ५९ सांसद छन् ।
प्रदेशसभा ठूलो दलको हिसाबले एमालेबाट २ भदौमा मुख्यमन्त्री बनेकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गरेकी थिइन् । २४ असोजमा उनले प्रदेश सभाको बैठक विश्वासको मतको प्रस्ताव पेस गरेकी थिइन् ।