बाक्लो हिमपातका कारण हुम्लाको तुम्लिङमा फसे १२ पदयात्री

जनपत्र
४ कार्तिक २०७८, बिहीबार ११:२५

हुम्ला – बाक्लो हिमपातका कारण बाटो छिचोल्न नसक्दा हुम्लाको लिमी क्षेत्रको तुम्लिङमा १२ जना पदयात्री हिउँमा फसेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभानियाका चार नागरिक, तीन पथ प्रदर्शक र पाँच स्थानीय तुम्लिङमा फसेका हुन् ।

आइतवार रातिदेखि परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा उनीहरु तुम्लिङमा रोकिन बाध्य भएका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

हिमपातका कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो बन्द हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना पदयात्री रोकिएका हुन् । असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो ।

आइतवारदेखि परेको न्यालु लेकमा बाक्लो हिमपात परेकाे हुँदा टोली उतै रोकिनुपरेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताउनुभयो । न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।

उद्धारका लागि हेलिकप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयलाई आग्रह प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*