कम्युनिष्ट सरकार लोकतन्त्रको ज्याकेट भिरेर निरंकुशता लाद्न तत्परः नेता के.सी.

जनपत्र
६ जेष्ठ २०७६, सोमबार १७:२५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.ले कम्युनिष्ट सरकारले लोकतन्त्रको ज्याकेट भिरेर निरंकुशता लाद्न लागिपरेको बताउनुभयो । कम्युनिष्टहरु सरकारमा आएसंगै चरम भ्रष्टाचार, सरकारी जग्गा हड्प्ने, बलात्कार, वाईडबडी काण्डमा मुछिनुका साथै निरंकुशता लाद्नमा केन्द्रित रहेको बताउनुभयो ।

कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगरको संयुक्त आयोजनामा सोमबार थाहानगरको पालुङमा भएको राष्ट्रिय जागरण अभियानमा बोल्दै नेता के.सी.ले कांग्रेसले नेपालको ईतिहासमा धेरै ठूला र महत्वपूर्ण परिवर्तन गरेको भएपनि दुईतिहाईको कम्युनिष्ट सरकार गठन भएको १५ महिना बितिसक्दापनि प्रधानमन्त्री मात्रै हैन मन्त्रीहरुसमेत अझै देखिने काम गर्न छाडेर खोक्रो आश्वासन र उखानटुक्का मात्रै बाढिरहेको बताउनुभयो ।

सरकार गठन भएसंगै देशको संविधान र कानून मिच्दै अघि बढेको बताउँदै नेता के.सी.ले यसैगरी एकपछि अर्को निरंकुशता लाद्न खोजे कांग्रेसले अब चौथो ठूलो आन्दोलनको तयारीमा लाग्नुपर्ने अवस्था आएको र अब ठूलो आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । कांग्रेसले नेपाल र नेपालीलाई आधुनिकरणमा ढाल्न सफल भएको बताउँदै केन्द्रीय सदस्य के.सी.ले यसको बारेमा जागरण अभियानमार्फत गाउँ, वडा र टोल/टोलमा गएर आम जनतामा जान आग्रह गर्नुभयो ।

विशिष्ट अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले नेपालको कम्युनिष्ट सरकारलाई विश्वले नपत्यका कारण अहिले नेपालको अर्थतन्त्र धरापमा परेको बताउनुभयो । अहिलेको सरकार चटकी सरकार भएको बताउँदै केन्द्रीय सदस्य डिनाले यो सरकार खोक्रो र झुटा आश्वाशन बाड्ने मात्रै काम गरेको बताउनुभयो । कांग्रेस सरकारमा नभएपनि कहिल्यै नआत्तिने पार्टी भएको बताउँदै नेतृ डिनाले अब गाउँ/गाउँ जागरण अभियानमार्फत कम्युनिष्ट सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्दै जनताको हरेक सुखदुःखमा साथ दिने बताउनुभयो ।

त्यस्तै विशिष्ट अतिथि कांग्रेस जिल्ला सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्टहरु झुटा आश्वासनको पोका लिएर जनमत बटुल्न सफल भई सरकारमा गएपनि अहिले बजेटको चरम दुरुपयोग गरि जनतालाई पंगु बनाउनुबाहेक अरु सिन्कोसमेत भाँच्न नसकेको बताउनुभयो । नेता बानियाँले कांग्रेस अब कम्युनिष्टका उपल्ला नेताहरुले गरेको चरम भष्ट्राचार, बलमिच्याईको भण्डाफोर गर्दै जागरण अभियान लिएर गाउँ/गाउँ हिडिरहेको बताउनुभयो । कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.को प्रमुख अातिथ्यतामा जागरण अभियान कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*