कोरोना महामारीको समयमा अपराध गरेको भन्दै ब्राजिलका राष्ट्रपतिलाई कारबाहीको माग

जनपत्र
४ कार्तिक २०७८, बिहीबार ०६:१२

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना महामारीको समयमा अपराध गरेको भन्दै कारबाहीको माग गरिएको छ।सिनेटले नयाँ रिपोर्ट सार्वजनिक गर्दै कोरोना महामारीको समयमा १३ वटा गम्भीर अपराध गरेको भन्दै उनलाई कारबाहीको माग गरेको हो। करिब ६ महिना लामो समयपछि तयार पारिएको १२ सय पेज लामो रिपोर्टमा बोल्सोनारोमाथि विभिन्न १३ वटा अपराधको आरोप लागेको छ।

बोल्सोनारो कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा असफल रहेको भन्दै उनीमाथि ६ लाख ब्राजिलियन नागरिक मारेको आरोप सिनेट रिपोर्टले लगाएको छ। उनले ब्राजिली नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाउन नपर्ने बताएका थिए। उनले लामो समयसम्म कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिँदै लिएनन्, पछिल्लो समय पनि लिएको देखिँदैन। उनले मास्कको प्रभावकारिताबारे पनि शंका व्यक्त गरेका थिए। उनले आफूले मास्क नलगाउने बताएका थिए।

गत साता मात्रै उनी सान्तोस विरुद्ध ग्रेमियोको फुटबल खेल मैदानमै गएर हेर्न चाहन्थे। तर, त्यहाँको स्वास्थ्य मापदण्ड अनुसार खोप नलगाएकालाई प्रवेश निषेध गराइएको थियो। सोहीकारण उनले खेल हेर्न पाएनन्। तर, बोल्सोनारोले आफूमा खोप लगाउनेमा भन्दा बढी एन्टिबडी रहेको दाबी गर्छन् ।

उनी आफैं पनि लकडाउनविरुद्ध उभिएका थिए। उनले केही लोभी राजनीतिज्ञका कारण सबै कुरा बन्द गराएर त्रास सिर्जना गरिएको भन्दै आलोचना गरेका थिए। सिनेटको प्रारम्भिक प्रतिवेदनले बोल्सोनारोमाथि आदिवासीको हत्या र सामूहिक नरसंहारविरुद्ध कारबाही गर्न सुझाव दिएको छ। नयाँ रिपोर्टमा मानवीय संकट, नक्कली प्रमाणपत्र र भ्रष्टाचारजस्ता अपराध गरेको आरोपमा कारबाही गर्नुपर्ने उल्लेख छ।

केही महिना अगाडि मात्रै ब्राजिलको स्वास्थ्य मन्त्रालयले भारतीय कम्पनी भारत बायोटेकको कोरोनाविरुद्धको खोप खरिदको सम्झौता रद्द गरेको थियो। बोल्सोनारोको सरकारमाथि कोरोनाविरुद्ध खोप खरिदमा अनियमितता गरेको आरोप लागेको उक्त सम्झौता रद्द गरिएको हो।

यद्यपि, बोल्सोनारोले भने आर्थिक अनियमितताको आरोप अस्वीकार गर्दै आएका छन्। उनले ब्राजिलमा अहिलेसम्म बायोटेकको खोप नआएको र कम्पनीलाई कुनै भुक्तानी पनि नदिइएको बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*