सेनाकाे हेलिकप्टर अपुग, खाेज तथा उद्धारमा निजी हेलिकप्टर पनि प्रयाेग गरिने
काठमाण्डाै – सरकारले बाढी, पहिरो र डुबानमा परेकाको खोज तथा उद्धारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने तयारी गरेको छ ।
अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार गरिरहेकामा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकप्टर पनि प्रयोग गर्न लागिएको हो ।
गृह मन्त्रालयमा आज बुधवार बिहान गृह मन्त्री बालकृष्ण खाणको पहलमा गृह सचिव टेकनारायण पाण्डे, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, निजी वायु सेवा कम्पनीहरूको एसोसिएशनका प्रतिनिधिलगायतको बैठकमा सेनाको हेलिकप्टरले मात्रै विपदमा परेकाको खोज तथा उद्धारमा कठिन देखिएपछि निजी हेलिकप्टर प्रयोग गर्ने निर्णय गरेको हो ।
निजी वायु सेवा कम्पनीको एसोसिएशनका कार्यकारी निर्देशक कमलेशकुमार वर्माले सरकारले खोजेमा आफूहरू सेवा दिन तयार रहेको र निजी वायु सेवा कम्पनीसँग ३५ हेलिकप्टर भएको जानकारी दिनुभएको थियो ।
हेलिकप्टर कहाँ छन् भन्ने लोकेसन एसोसिएशनले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृहले आवश्यकताअनुसार खटाउने भएको छ । निजी हेलिकप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिनेछ ।
बैठकमा गृह मन्त्री खाणले राष्ट्रिय विपद्को सामना गर्दै नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।