बागमती प्रदेश सभाको बैठक सार्न नेकपा एमालेको प्रदेशसभा सचिवालय समक्ष प्रस्ताव
हेटौंडा । भोलि कात्तिक ४ गते बस्ने बागमती प्रदेश सभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयसमक्ष प्रस्ताव गरेको छ । लिखित पत्र पठाउँदै एमालेले भोलि हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो ।
एमालेले बैठक ११ गतेका लागि बोलाउनसमेत प्रस्ताव गरेको छ । कात्तिक पहिलो हप्ताभित्र नेकपा एमालेको स्थानीय अधिवेशन हुने र सो अधिवेशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित हुन नसक्ने कारण देखाउँदै बैठक ११ गते सार्न सो दलका प्रमुख सचेतक दीपक निरौलाले प्रदेशसभा समक्ष लिखित प्रस्ताव गरेका हुन् ।
नेकपा एमालेको वडा अधिवेशन कार्तिक ६ गते र पालिका अधिवेशन कार्तिक ९ गते हुने भएको र प्रदेशसभा सदस्यहरु त्यसमा होमिनुपर्ने भएकाले प्रदेशसभामा सहभागिता हुन नसक्ने जनाईएको छ । कार्तिक ४ गते बस्न लागेको बैठकमा मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा टेबुल गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढ्ने जनाईएको छ । प्रदेशसभाको समिकरण अनुसार शाक्य अल्पमतमा छिन् ।