सुदूरपश्चिममा बाढी पहिरोको वितण्डा : १४ जनाको मृत्यु, दुई दर्जनभन्दा बढी वेपत्ता
सुदूरपश्चिममा बाढी, पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । पहिरोमा परेर सबैभन्दा बढी डोटीमा ९ जनाको ज्यान गएको छ । बैतडीमा ३ र डडेल्धुरामा २ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार सायल गाउँपालिका–६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा पहिरो खस्दा पुरिएर उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशिषको मृत्यु भएको छ ।
पहिरोमा परी जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जोरायल गाउँपालिका–३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको छ । जोरायल गाउँपालिकाका स्थानीय तारा कपड्यालले जोगी सार्कीकी श्रीमतीको उपचारका क्रममा स्थानीय पोलीक्लिनिकमा मृत्यु भएको बताए । त्यस्तै जोरायल गाउँपालिका–४ मा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
सइकडा खोलामा आएको बाढीले घर भत्काउँदा ४२ वर्षीय शेरबहादुर बिक, उनको छोरा १८ वर्षीय मोहन बिक, १३ वर्षीया पवित्रा बिक र १६ वर्षीय रबिन बिकको मृत्यु भएको जिल्ला प्रहरी डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । त्यस्तै शिखर नगरपालिका–११ की ३५ वर्षीया मन्दीरा बलायरको पहिरोबाट खसेको ढुंगा टाउकामा लागेर मृत्यु भएको छ । घाइते भएकी बलायरको उपचारका क्रममा सुजंग अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार सायल गाउँपालिका–१ मा छत्रेश्वर खोलाले बगाउँदा ७४ वर्षीय बिरे रोकाया बेपत्ता भएका छन् । उनीहरूको अस्थायी प्रहरी पोष्ट छपालीको प्रहरी टोलीले खोजबिन गरिरहेको जनाएको छ ।
डडेल्धुराको गन्यापधुरा गाँउपालिका–१ भात्काडामा सन्ध्या फेन्सी स्टोर पसल गरेर बस्ने ३२ वर्षीय विष्णुप्रसाद अवस्थीको घरमाथिबाट पहिरो खस्दा उनको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।
डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ । घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की , २४ वर्षीय भानु पार्की र तीन वर्षीय सोम पार्की छन् ।
बझाङका २३ जना बेपत्ता
बझाङ थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । एकै घर परिवारका १८ जनासहित २३ जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीको घरका ५ जना रहेको स्थानीयले बताएका छन । गगने भने रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले मात्र सकुशल रहेको र अरु बेपत्ता भएको स्थानीयबासिन्दाको भनाइ छ । पहिरोले सात घर पुरिएका छन् । गाउँका अन्य विस्थापित भएका छन् । विस्थापितहरु त्रिभुवन माध्यमिक विद्यालय महेन्द्रधारमा बसिरहेका छन् ।
बेपत्ता हुनेमा गगने शार्कीको घरका हर्कु शार्की, धनगिरी शार्की, सिता शार्की, प्रवाश शार्की, भूमिका शार्की, चिरञ्जीवी शार्की, इश्सरा शार्की, संजीव शार्की, सविता शार्की, सरोज शार्की, शर्मिला शार्की, पम्मा शार्की, सुवाश शार्की, विकास शार्की, एक जना नाम नखुलेका रहेका छन् । यस्तै मदन शार्की, कलुदेवी शार्की र एलिसा शार्की गरेर १८ जना एकै परिवारका वेपत्ता भएका छन् ।
यस्तै नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सिमा पार्की गरेर ५ जना रहेको स्थानीय शिक्षक मदनबहादुर साउँदले जानकारी दिए ।
कैलालीमा तीन जना बेपत्ता
कैलालीमा तीन जना बेपत्ता भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ का ६१ वर्षीय खडक बहादुर घर्तीमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तीमगर र २६ वर्षीय खडक राना मगर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु कर्णालीमा माछा मार्न गएका थिए । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सेतीमा ६० जना फसे
सेती नदीमा आएको बाढीमा बैतडीका ६० जना फसेका छन् । जिल्लाको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा सेती नदीको छेउकै बस्तीमा बस्दै आएका १० परिवारका ६० जना फसेको हुन् ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष रामबहादुर धामीले बस्तीको चारतिर नदी बगिरहेको र बीचमा ६० जना फसेको जानकारी दिए ।
हेलिकोप्टरबाट उद्धारको प्रयास भए पनि सफल हुन सकेको छैन । उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन् । उनीहरुमध्ये अधिकांश बाढीको जोखिम हुने भन्दै राति नै सुरक्षित स्थानमा सरेका थिए । उनीहरुलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा राखिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टिमा फसेका ५ जनाको उद्दार गरिएको छ । उद्दार गर्न सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्ड हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । प्रतिकुल मौसमका बावजुद सेनाको टोलिले बेलुका ५ बजे सबैलाई सकुशल उद्दार गरिएको नेपाली सेनाले बताएको छ । कैलालीको मोहन्यालमा फसेका दुई जनाको भने उद्धार हुन बाँकी छ ।
कर्णाली नदी बस्तीमा पस्यो
कर्णाली नदीको बाढी गाउँ पसेपछि दर्जनौ घर डुबानमा परेका छन् । कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथिको स्ल्याप भत्काएपछि बाढी बस्तीमा पसेको हो ।
पुलको पूर्वतर्फको स्ल्याप भत्किएर नदी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । नदीको पानी नजिकै रहेको बस्तीमा पसेर ५० भन्दा बढी घर डुबाएको उनले बताए । साथै पुल भत्किँदा आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।
यस्तै मंगलबार दिउँसो टीकापुर नगरपालिका–५ शाहीपुरस्थित निर्माणाधिन तटबन्ध भत्किएर नदी गाउँ पसेको छ ।
मंगलबार नै कर्णाली नदीको बहाव ७ वर्ष यताकै उच्च पुगेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार २०७१ सालपछि सबैभन्दा बढी कर्णालीमा बहाव देखिएको हो । २०७१ सालमा १६ मिटरसम्म पानीको बहाव पुगेको बताउदै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले मंगलबार १३ मिटरभन्दा बढी पुगेको जानकारी दिए । मंगलबार राति ८ बजे गरेको मापन अनुसार १३।१० मिटर बहाव पुगेको छ ।
महाकालीमा जलस्तर अहिलेसम्मकै उच्च
महाकाली नदीको जलस्तर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । महाकालीको जलस्तर ५ लाख ४७ हजार २ सय ३७ क्युसेक पुगेको हो । यो महाकाली नदीमा शारदा ब्यारेज बनेदेखि यताको उच्च बहाव हो ।
महाकालीको जलस्तर सन् १९३४ मा ५ लाख २२ हजार, २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ र आज ५ लाख ४७ हजार २ सय ३७ क्युसेक मापन भएको छ । नदीमा बहाव उच्च भएपछि शारदा व्यरेजमा खतराको चिन्ह रातो बत्ति बालिएको छ । पुलमा आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ ।
यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । महाकाली नदीको पानी गाउँ पस्दा नगरपालिका–१० का अधिकांश घर डुबानमा परेका हुन् ।
बाढी पीडितलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए । उनका अनुसार बाढी पीडितलाई उद्धार गरी अम्भिका माविमा राखिएको छ । यस्तै महाकाली नदी किनारमा रहेको चर्चित ‘भाइरल रोड’ भत्काएको छ ।
सेती नदीको पक्की पुल जोखिममा
डोटीको सेती नदीमाथिको पक्की पुल जोखिममा परेको छ । तीन दिनदेखिको वर्षाका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि पुल जोखिममा परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयले जारी गरेको बुलेटिनअनुसार पुलमा आवागमन बन्द गरिएको छ । नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । यस्तै सेती नदीमा आएको बाढी बस्तीमा पसेको छ ।
दिपायलस्थित सेती नदी र द्वारीखोलाको तटमा रहेका दक्षिणकाली वर्कसप, डोटी चेम्बरको नव निर्मित भवन, दिल्पेश्वर माविको भवन, महादेव मन्दिरलगायत संरचना डुबानमा परेका छन् ।
दक्षिणकाली वर्कशपमा राखिएका दुईवटा बोलेरो जिप पनि डुबेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध र नेटवर्क नहुँदा उद्धारमा समस्या भइरहेको छ । फरकधारबाट