४ जनाको मृत्यु भएको मोतिपुर घटनाका मुख्य योजनाकार पक्राउ

जनपत्र
३ कार्तिक २०७८, बुधबार ०६:२४

रुपन्देहीको मोतीपुर औद्यौगिक क्षेत्रको जग्गा अतिक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने लगायतका काममा संलग्न भएको भन्दै प्रहरीले ४४ वर्षिय साविर अलिलाई पक्राउ गरी मँगलबार सार्वजनिक गरेको हो ।

कपिलवस्तु सुद्धोधन गांउपालिका–६ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उप–महानगरपालिका–११ देवीनगरमा बस्दै आएका उनलाई मुख्य अभियुक्तको रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सोमबार अलि बस्दै आएको देविनगरस्थित डेराबाट पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जानकारी गराएको छ ।

पक्राउ परेका अलिलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्ती सुरक्षाविरुद्धको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्तको साथबाट प्रहरीले ३ थान ब्यानर, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको १३ थान कागजात र बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको मोतिपुर औद्यौगिक क्षेत्रमा गएको असोज २४ गते जग्गा कब्जा गर्न आएका व्यक्तिहरु र सुरक्षाकर्मीबीच झडप हुँदा ४ जनाले ज्यान गुमाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*