ब्याजदरमा निर्धारणमा राष्ट्र बैंकको लगाम, बढेको ब्याजदर अब घट्ने
बैंक तथा वित्तीय संस्थाहरूले १ कात्तिकबाट बढाएको निक्षेपको ब्याज दर फिर्ता गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। केन्द्रीय ब्यांकले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज घटाउने गरी हस्तक्षेप गरेको हो। विभिन्न बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्याएका थिए। जसकारण, शेयर बजारमा लगातार ठूलो गिरावट आएको थियो। निक्षेपको ब्याजदर बढेसँगै कर्जाको ब्याजदर पनि बढेको छ।
केन्द्रीय बैंकले अब जुनसुकै निक्षपको ब्याज निर्धारण गर्दा अघिल्लो महीनाको भन्दा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गर्न पाइने व्यवस्था गरेको छ। यसको अर्थ, कुनै बैंक तथा वित्तीय संस्थाले असोजमा निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकेको रहेछ भने उसले यसको १० प्रतिशत हुन आउने शुन्य दशमलव ७ प्रतिशत बिन्दुले मात्र ब्याज परिवर्तन गर्न सक्छ।
त्यसैगरी, संस्थागत मुद्दति निक्षेपकर्ताले पाउने ब्याजदर अब सर्वसाधारणले पाउनेभन्दा थोरै हुने भएको छ। संस्थागत मुद्दति निक्षेपकर्ताले पाउने ब्याजदर अब सर्वसाधारणले मुद्दति निक्षेपमा पाउने ब्याजदर भन्दा कम्तीमा एक प्रतिशत विन्दुले कम हुनेछ। बुधबारबाटै यो ब्याजदरको नयाँ व्यवस्था लागू हुनेछ।