दुई वटा प्रदेशमा ठूलो पानी पर्दै, डडेल्धुरामा २४ घण्टामै दुई सय २० मिलिमिटर वर्षा
काठमाण्डाै – अहिले प्रदेश १ र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी परिरहेको छ । आज मङ्गलवार बिहानसम्म सुदूरपश्चिममा ठूलो पानी परिरहेकोमा आज बिहानदेखि प्रदेश १ मा पनि ठूलो पानी परिरहेको हो ।
प्रदेश १ मा भोलि बुधवारसम्म नै ठूलो पानी पर्नेछ भने सुदूरपश्चिममा भोलिदेखि केही कम हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । सुदूरपश्चिममा निकै ठूला–ठूला बाढी आएको र यो क्रम अझै बढ्न सक्ने मौसमविद्को अनुमान छ ।
यस्तै अहिले गण्डकी, वाग्मती र प्रदेश २ मा पनि पानी पर्न सुरु भएको छ । यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको र अरू ठाउँमा मध्यम वर्षा हुने मौसमविद् शाक्यको भनाइ छ ।
काठमाण्डौ उपत्यकामा पनि आज राति ठूलो पानी पर्ने सम्भावना छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै डडेल्धुरामा दुई सय २० मिलिमिटर पानी परेको छ । २४ घण्टामै दुई सय २० मिलिमिटर वर्षा निकै कम हुने गरेको ‘रेकर्ड’ रहेको मौसमविद् शाक्यले बताउनुभयो ।
पर्सि बिहीवारदेखि भने ठूलो पानी पर्ने क्रम कम हुने तर ठाउँ–ठाउँमा मध्यम वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ ।