धानबाली भित्र्याउने बेला पानी परेपछि मकवानपुरका किसान चिन्तित
हेटौंडा । मकवानपुरका किसानलाई धान काटेर भित्रयाउने चटारो सुरु भएको बेलामा पानी परेपछी समस्या भएको छ । हिजो र आज पानी परेछी मकवानपुरको दश वटै स्थानीय तहका किसान चिन्तित भएका छन् । दशै सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका किसानलाई समस्या भएको हो।
दशैँको बेला धान पाक्ने समय हुने र घर गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ । तर हिजो देखि पानी पर्न थालेपछि टीका सकिएलगत्तै धान काट्ने किसानको योजना बिफल भएको छ । कतिपय ठाउँमा त काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ ।
पानी परेपछी धान काट्न र चुट्नका लागि समस्या भएको मकवानपुरगढी गाउँपालिकाका किसान तिर्थ सापकोटा वताउनुहुन्छ । धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिए पनि धान काटेर सुकाउनेबित्तिकै पानी परेपछि नोक्सानी भएको किसानको गुनासो छ । धान नकाटेको ठाउँमा पनि वर्षाले धानको बोट ढलेको छ ।
मौसमको अवस्था बुझेर मात्रै धान भित्र्याउन कृषि विज्ञको सुझाव छ । मौसमविदले पर्सि बुधबारसम्म नै पानी पर्ने बताएका छन् । धान पाके पनि पानीले भिजाउनुभन्दा केही दिन पर्खनु नै उपयुक्त हुने कृषि विज्ञको भनाइ छ । धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न बिज्ञले सुझाब दिएका छन् ।