हेटौंडा–काठमाण्डौं चल्ने सुमोद्वारा दश जना यात्रुसंग ५ हजार ठगि, प्रहरीको जरिवाना एक हजार मात्र

जनपत्र
३१ आश्विन २०७८, आईतवार १७:०४

हेटौंडा । हेटौंडा–कुलेखानी–काठमाण्डौ चल्ने टाटासुमोले एक जना यात्रुसंग तोकिएको भाडा भन्दा पाँच सय रुपैयाँ सम्म बढी भाडा ठगि गरेको प्रहरीले फेला पारेको छ । एउटा सुमोमा अहिले दश जना यात्रु चढाउने गरिएको छ । दश जना यात्रुसंग एउटै सुमोले पाँच हजार रुपैयाँ ठगि गरेको छ । तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने कार्बाहीको नाममा एक हजार रुपैयाँ मात्र जरिवाना लिएर सुमोलाई छोडिदिएको छ ।

हिजो र आजको प्रहरीको चेकिङमा पाँच वटा सुमोले मात्र यात्रुसंग बढी भाडा लिएको प्रहरीले फेला पारेको र एक हजार रुपैयाँका दरले जरिवाना लिएर छोडिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले वताउनुभयो ।

दैनिक रुपमा हेटौंडा–काठमाण्डौ ओहोर दोहोर गर्ने ५ सय वटा टाटा सुमोहरु रहेका छन् । ती सबै सुमोहरुले तोकिएको भन्दा दोव्बर भाडा यात्रुसंग लिएका छन् । तर दुइदिनको अवधिमा प्रहरीले बल्ल पाँच वटा सुमोले ठगि गरेको फेला पार्न सफल भएको जनाएको छ ।

पाँच हजार ठगि गर्नेलाई कानून अनुसार कार्बाही गर्नुको सट्टा ट्राफिक नियम उलंघन गरेवापत लगाउने न्युनतम एक हजार रुपैयाँ जरिवाना लगाएर छोडिएको यात्रुहरुले गुनासो गरेका छन् ।

प्रहरीले कारवाही गरिएकोमा सवारीमा ना १ ज १७५२, ना १ ज ७४४०, ना १ ज २०८८, ना १ ज ६४०३ र ना १ ज ५०७६ नम्बरको सुमो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले फेला पारेको सुमोहरुले तोकिएको भाडा भन्दा २ सय ३० रुपैयाँ देखि ५ सय रुपैयाँ सम्म बढी लिएको पाइएको निमित्त प्रहरी प्रवक्ता दासले वताउनुभयो । ठगि गर्ने टाटासुमोलाई ठगि मुद्धा चलाउनुको सट्टा मकवानपुर प्रहरीले एक हजार रुपैयाँका दरले जरिवाना लगाएर यात्रु ओसार्न छोडिदिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*