‘तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएकाे छ, सरकार कसरी चलिरहेकाे छ भन्ने प्रष्टै छ’
काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएको बताउनुभएको छ ।
दशैँ, दीपावली, छठ र नेपाल संवतकाे अवसरमा आज बिहीवार झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, ‘तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ । अरू के–के भएको छ, त्यो चाहिँ देखिन बाँकी छ ।’
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीले ‘अर्ली इलेक्सन’ को सम्भावनासमेत रहेको दाबी गर्नुभयो । आफूले नेतृत्व गरेको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको चर्चा गर्दै उहाँले प्रदेश र पालिकाकाे सरकारलाई अब धेरै अवधि बाँकी नरहेका कारण तीव्र गतिमा विकासका कार्यलाई अघि बढाउन आग्रह गर्नुभयो ।
नागरिककाे जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कुप्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आह्वान गर्नुभयो ।
उहाँले दशैँ, तिहार, छठलगायतका चाडपर्वले समाजलाई एकता र सद्भावमा उन्नका लागि मालाको काम गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रलाई व्यवहार र जीवनमा उतार्न सद्बुद्धि आओस् भनी शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।
विसं २०५० सालदेखि बडादशैँको महानवमीका दिन एमाले अध्यक्ष ओलीले गृह जिल्ला झापामा शुभकामना आदानप्रदान गर्दै आउनुभएको छ । गएकाे वर्ष कोभिड–१९ को कारण कार्यक्रम रोकिएको थियो ।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल, सांसद् कोमल वलीलगायतले मन्तव्य व्यक्त राख्नुभएकाे थियो ।