आयल निगमकाे ट्याङ्कर सडक छेउमै ‘पार्किङ’, दुर्घटना र आगलागीकाे जाेखिम बढ्याे
काठमाण्डाै – निर्माणाधीन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा ट्याङ्करहरूका कारण जोखिम बढेकाे छ । ६ लेन सडकको चटकपुर क्षेत्रमा लस्करै पार्किङमा राखिएका ट्याङ्करहरूका कारण जोखिम बढेकाे हाे ।
सडक छेउमै रहेको आयल निगमको कार्यालयका पेट्रोलियम पदार्थको ढुवानीका लागि अहिले ८७ ट्याङ्कर छन् । तर पार्किङका लागि ठाउँ नहुँदा २४ देखि ४८ घण्टासम्म ती ट्याङ्कर सडक छेउमा पार्किङमा राखिँदै आएका छन् । यही कारण सवारी दुर्घटना र आगलागीको जोखिम बढाएको आयल निगम सुदूरपश्चिमका प्रमुख रामकुमार न्यौपानेले बताउनुभयो । उहाँले ८७ वटा ट्याङ्करले पेट्रोलियम पदार्थ बोक्ने गरेको भए पनि पार्किङकाे अभावमा ट्याङ्कर सडकमै रोकिरहेको बताउनुभयो ।
प्रमुख न्याैपानेले भन्नुभयो, ‘पहिला जनघनत्व कम थियो, बिस्तारै बढ्न थालेपछि हामीले यस डिपोको सेवा सुविधा पनि बिस्तार गर्याैँ, अहिले ८७ वटा ट्याङ्करले तेल ढुवानी गरिरहेका छन् तर पार्किङकाे व्यवस्था हुन सकेको छैन, जसकारण सडकमै ट्याङ्कर होल्डिङ गरिरहनुपरेको छ, २४ घण्टा, ४८ घण्टा वा त्योभन्दा पनि बढी होल्डिङ गर्छन्, जसले सवारीसाधनको आवतजावतलाई असर परेको छ, यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।’







