ललितपुरमा लिच्छविकालीन मानमानेश्वरी भवानीलाई मूलचोकमा भित्र्याइयो

जनपत्र
२७ आश्विन २०७८, बुधबार १३:४०

काठमाण्डाै – ललितपुरमा लिच्छविकालीन मानमानेश्वरी भवानीलाई मङ्गलबजारमा रहेको पाटन दरबार क्षेत्रको मूलचोकमा भित्र्याइएको छ । हिजो फूलपातीको दिन मानमानेश्वरी भवानीलाई मु छेँ आँगमबाट मूलचोकमा रहेको मु छेँ माजुको देवालयमा भित्र्याइएको हो। यससँगै ललितपुरमा खड्ग जात्रा सुरू भएको छ।

घटस्थापनाको दिनदेखि साधना गरिएको भवानीको मूर्ति र पौराणिक तीन खड्गलाई विधिवत पूजाआजा गरी ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन लगायतको उपस्थितिमा हिजो बाजागाजासहित मूलचोकमा भित्र्याइएको हो।

जात्राको क्रममा नवमीका दिन महालक्ष्मीस्थानबाट पाटन दरबार क्षेत्रसम्म खड्ग जात्रा सञ्चालन गरिनेछ भने दशमीका दिन ठेचोको नवदुर्गा नाचका देवगणलाई मानमानेश्वरी भवानीबाट टीका थाप्नको लागि पाटन दरबारमा ल्याइनेछ। त्रियोदशीका दिन मानमानेश्वरी भवानीलाई मूलचोकबाट मु छेँ आँगममा नै फर्काइनेछ।

यो जात्रा २०५० सालदेखि विभिन्न कारणले सञ्चालन हुन नसकेकोमा २०७५ सालमा ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य सङ्घ, गुथि संस्थान, गुथियारहरू लगायतको पहलमा पुनः सञ्चालन भएको हो। यसवर्ष ललितपुर महानगरपालिकाले जात्रामा सहभागी हुनेहरूको लागि बीमाको व्यवस्था गरेको छ भने जात्रा सञ्चालनको लागि २५ लाख रूपैयाँको अक्षयकोषको पनि स्थापना गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*